अब देउवा र पौडेलबाट कांग्रेस चल्न सक्दैन : प्रकाशमान सिंह

by समतल अनलाइन

सिन्धुली। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा अब पार्टी चल्न नसक्ने दावी गरेका छन् । सिन्धुलीको कमलामाईमा आयोवित कार्यक्रममा बोल्दै नेता सिंहले कांग्रेसलाई बलियो बनाउन नेतृत्व परिवर्तनको विकल्प नभएको बताए ।

‘अब देउवा र पौडेलजीबाट पार्टी चल्न सक्दैन,’ सिंहले भने,‘पार्टी बलियो बनाएर देशको भविष्य सुन्दर बनाउन नेतृत्व परिवर्तनको विकल्प छैन ।’ कांग्रेसमा नेतृत्व परिवर्तनका लागि मिसन र भिजनसहित आफू प्रस्तुत भएको उनले बताए । सिंहले आफूसँग कांग्रेस हाँक्ने दृढ इच्छाशक्ति, विचार तथा सही योजना रहेको पनि तर्क गरेका छन् ।

क्षणिक लाभका लागि पार्टी र देशको भविष्य बर्बाद हुनबाट जोगाउन पनि उनले आग्रह गरे । ‘बेथितिबाट कांग्रेस र देश चल्दैन,’ सिंहले भने, ‘पदको लोभ नगर्नुस्, पैसाको क्षणिक लाभ नहेर्नुस्, भविष्य हेर्नुस् । छोरा नाति–पनातिको भविष्य हेर्नुस् । राम्रो नेता चुनेर पठाउनुस् । कांग्रेस बचाउनुस् ।’

कांग्रेस कमजोर हुँदा देश र लोकतन्त्र नै कमजोर हुने तर्क उनले गरे । कांग्रेस कमजोर हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटनको दुस्साहस गरेको सिंहले बताए । ‘कांग्रेस कमजोर भए कम्युनिस्टहरूले लोकतन्त्र नै फालिदिन्छन्,’ सिंहले भने । कांग्रेसको नेतृत्वमा महत्वपूर्ण ऐतिहासिक कार्यहरु भएको स्मरण गराउँदै देशलाई समृद्ध बनाउने भूमिका पनि खेल्ने उनले बताए । विगतमा कम्युनिस्टहरूले नसकेपछि काँग्रेसको नेतृत्वको सरकारको पालामा संविधान जारी भएको उनको तर्क थियो ।

दुईतिहाइ मत पाउँदा पनि ओली सरकार टिक्न नसकेको उनले बताए । ‘कम्युनिस्टहरूले राजनीतिक स्थायित्व दिन सक्दैनन् भन्ने प्रमाण हो यो,’उनले भने। ओली सरकारको पालामा कम्युनिस्टहरु भित्रै भ्रष्टाचारको प्रतिष्पर्धा बढेको बताए । उनले भने,‘भ्रष्टाचारमा प्रतिष्पर्धा गर्दा गर्दै सरकार ढलेको हो ।’ ओलीलाई हावादारी गफमा कसैले जित्न नसक्ने बताए । कम्युनिस्टहरूको लहैलहैमा लाग्दा देश समस्यामा फसेको बताए ।

 

 
 
  
 

You may also like