गठबन्धन सरकार लुतो लागेको कुकुर, खुइलिंदै जान्छ : ओली

by समतल अनलाइन

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकारलाई ‘लुत्तो लागेको कुकुर’ को संज्ञा दिएका छन् । एमाले भरतपुर महानगरको अधिवेशनलाई सोमबार चितवनमा सम्बोधनका क्रममा ओलीले देउवा नेतृत्वको सरकार आफै ढल्ने बताएका हुन् ।

‘हामी यो सरकारलाई केही गर्दैनौं । हाम्रो तयारीमा जुटिसकेका छौं । तर यो सरकार चल्दै जान्छ, लुतो लागेको कुकुरझैं खुइलिँदै जान्छ’, उनले थपे, ‘हामीले चाह्यौं भने सजिलै ढाल्न सक्छौं । तर हामी यसलाई चलाउँदैनौं ।’

उनले पाँच दलीय गठबन्धन चुनावमा जान डराएको समेत आरोप लगाए । ‘चुनावबाट कहिलेसम्म भाग्लान् यिनीहरु ? स्थानीय तहको चुनावमा यिनीहरुलाई धोबीले लुगा पछारेझैं पछार्नु पर्छ’, उनले भने, ‘भरतपुर महानगरमा जित्ने एमाले नै हो । आजैदेखि नै एकतावद्ध भएर तयारी गर्नुस् ।’

उनले अब एमालेमा देखिएको विवादलाई बिर्सिएर अघि बढ्न पनि आग्रह गरे । ‘हिजो कुन पृष्ठभूमिमा के भयो, हिजोका कुरामा अल्झिने होइन । अब समय बर्बाद गर्ने होइन’, उनले भने, ‘विगतका तीता मिठा कुरा सम्झिएर समय खेर फाल्ने होइन यो । अब अरुझैं हामी कुटाकुट गरेर बस्ने होइन । अघि बढौं चुनावको तयारीमा लागौं ।’

उनले पाँच दल एकसाथ लडे पनि एमाले एक्लै काफी हुने बताएका छन् । ‘हामी जित्नका लागि लड्छौं । चुनावसम्मै हामी पाँच वटा मिल्छौं भनिरहेका छन् । पाँच वटै मिलेर जाऊ हामी एक्लै काफी छौं ।’

 

 
 
  
 

You may also like