काम नभए म पनि सरकारमा बस्दिन, अरुलाई पनि छाड्दिन : वर्षमान पुन

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सरकारले कार्यसम्पादन सम्झौताको सुरुवात गरेर नयाँ कार्यशैली अपनाएको बताएका छन् ।

उनले जनताको अपेक्षालाई पुरा गर्न आफु पनि अहोरात्र खट्ने भन्दै मातहतका निकायलाई परिणाम दिने गरी काम गर्न निर्देशन दिए । तेस्रो चौमासिक एवं वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बिहीबार मन्त्री पुनले परिणाम आउने गरी काम नगरे कसैसँग पनि सम्झौता नगर्ने चेतावनी दिए । उनले प्रधानमन्त्री र सरकारको प्राथमिकता भनेको जनताको प्राथमिकता भएको भन्दै सरकारले अघि सारेको योजनालाई मन भित्रैबाट पुरा गर्न मातहतका निकायलाई निर्देशन दिए । ‘अब प्रक्रिया मात्र भनेर हुँदैन, तपाईहरुले तालिका बनाएर नै काम गर्नुपर्यो । सरकारले अघि सारेको कामलाई सफल पार्नु हामी सबैको दायित्व हो’ मन्त्री पुनले भने ।

मन्त्री पुनले आफू झण्डा हल्लाउन मात्र मन्त्री नभएको भन्दै काम नगरे कसैलाई पनि जिम्मेवारीमा नराख्ने चेतावनी दिए । ‘काम नगर्ने हो भने पद ओगटेर मात्र बस्न कसैलाई पनि छुट छैन । आयोजना प्रमुख दुई वर्ष बस्नुपर्छ भन्ने हुँदैन, सचिव र मन्त्री पनि पदमा टिक्नैपर्छ भन्ने छैन् ।’ मन्त्री पुनले कडा शव्दमा भने । नेकपा नेतासमेत रहेका मन्त्री पुनले अब काम नगर्ने कर्मचारीसँग आफूले कुनै पनि हालतमा सम्झौता नगर्ने प्रस्ट पारे । उहांले हरेक महिना मन्त्रालयमा समीक्षा बैठक राखेर कामको प्रगति विवरण लिने घोषणासमेत गरे । ‘चिनेका साथी भाई हुन् काम गरिहाल्छन् नि भनेर मैले भन्ने अवस्था छैन्, मलाई परिणाम चाहिएको छ । परिणाम नदिने हो भने मैले विकल्प खोज्नुपर्ने हुन्छ’ मन्त्री पुनले भने ।

मन्त्री पुनले अधिकृतभन्दा माथिका कर्मचारीलाई सचिव, मन्त्री वा विभागीय प्रमुखले मन पराए पनि नपराए पनि काम परिभाषित गरेर जिम्मेवारी दिन मातहतका उच्च अधिकारीलाई निर्देशन दिए । कागजमा निर्देशन दिने र प्रगति देखाउने प्रवृतिलाई निरुत्साहित गर्नेुपर्ने भन्दै मन्त्री पुनले राष्ट्रिय गौरवका आयोजनाको हकमा फिल्डमै गएर काम बुझ्न र परिणाममुखी काम गर्न उनले सम्बन्धित कार्यालय प्रमुखहरुको ध्यानाकर्षण गराए ।

 
 
  
 

You may also like