गुल्मीको पहिरोमा ज्यान गुमाउनेका परिवारलाई दुई लाख

बुटवल । गुल्मी जिल्लाको सत्यवती गाउँपालिकामा पहिरोमा ज्यान गुमाउनेका परिवारले रु दुई लाख राहत रकम पाउने भएका छन् ।

प्रदेश नं ५ को आज बसेको प्रदेशसभाको बैठकमा सामाजिक विकासमन्त्री सुर्दशन बरालले सङ्घबाट रु एक लाख र प्रदेश सरकारले रु एक लाख गरी प्रतिपरिवार रु दुर्ई लाखका दरले राहत रकम वितरण गर्ने जानकारी गराएका छन् ।

पहिरोमा परी ज्यान गुमाएका सत्यवती गाउँपालिकाका १३ जना र कालीगण्डकी गाउँपालिकाका एक जनाको परिवारलाई रु दुई-दुई लाखका दरले राहत रकम उपलब्ध गराउने प्रदेश सरकारले निर्णय गरेको मन्त्री बरालले बताए ।

गुल्मीको पहिरोको विषयमा बैठकमा सदस्यले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री बरालले पहिरो प्रभावितको उद्धार र राहतमा प्रदेश सरकारले सक्दो प्रयास गरेको बताए ।

“पहिरो गएको अर्को दिनमै सत्यवती पुगेर राहत वितरण गरी अवस्था बुझेर आयौं । स्थिति दर्दनाक छ ।” उनले भने । प्रदेश सरकारले पहिरो प्रभावितस्थलमा पुनःस्थापना र पुनःनिर्माणमा विशेष जोड दिने उनको भनाइ थियो । “विद्यालय बिदा गराएर आश्रय लिने व्यवस्था गरेका छौ । उनीहरुलाई सुरक्षितस्थलमा आवासका लागि जग्गा उपलब्ध गराउने तयारी गरेका छौँ ।”

मन्त्री बरालले पहिरोका कारण सत्यवती गाउँपालिकाका खानेपानीको मुहान र पाइप पुरेको, अस्लेवामा सिँचाइ गर्ने कुलो भत्काएको र सडक सञ्जाल अस्तव्यस्त बनाएको बताए । “स्वास्थ्य समस्या भने अहिलेसम्म देखा परेको छैन । मानसिक समस्या देखा पर्न सक्ने भएकाले मनोपरामर्श दाता, चिकित्सकबाट उपचार गर्ने व्यवस्था मिलाएका छौँ । स्वास्थ्यचौकीमा पर्याप्त औषधोपचार छ । चिकित्सक ठाउँमै छन् ।” उनले भने ।

मन्त्री बरालले पहिरोले लिम्घामा भन्दा ठूलो लुम्पेकमा बढी प्रभाव पारेका कारण ३०७ घरधुरी विस्थापित भएको बताए । “नयाँ संरचना बनाउन ठूलो रकम आवश्यक पर्छ तर प्राकृतिक विपत्तिलाई राजनीतिकरण गर्न खोजेको आभास भएको छ । उनले भने, “यस्तो अवस्थामा सबै मिलेर सहयोग गर्नुपर्छ ।”

पुनःस्थापनामा ध्यान दिन आग्रह

प्रदेश नं ५ को प्रदेशसभाका सदस्यले गुल्मीको सत्यवती गाउँपालिकामा पहिरो प्रभावितको पुनःस्थापनाका लागि सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभा प्रदेश नं ५ को आज बसेको बैठकको विशेष समयमा प्रदेशसभा सदस्यहरुले सत्यवतीको वडा नं ३ र ४ मा पहिरोका कारण विस्थापित भएकालाई राहत र उपयुक्त स्थानमा बसोबासको व्यवस्था मिलाउन अनुरोध गरे । प्रदेशसभा सदस्य दिनेश पन्थीले सत्यवती गाउँपालिकामा परेको विपद्का कारण स्थानीयमा परेको समस्या समाधानमा तीनवटै सरकारको ध्यान जानुपर्ने बताए । “प्रभावित विद्यालयमा आश्रय लिएर बसेका छन् । अब केही दिनमा विद्यालय शुरु हुन्छ । उनीहरुलाई तत्काल बस्ने व्यवस्था मिलाउनुपर्छ ।” उनले भने ।

प्रदेशसभा सदस्य वीरबहादुर रानाले पहिरो प्रभावित गुल्मीको सत्यवती गाउँपालिकाका स्थानीयमा डरत्रास कायमै रहेकाले जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्न प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए । “पहिरो प्रभावित ठाउँको यथार्थ अनुगमन जरुरी छ । त्यसका लागि प्रदेशसभा सदस्यलाई लैजाने व्यवस्था होस् ।”, उनले भने ।

अर्का सदस्य विजयबहादुर यादवले सत्यवतीमा दुःखद् घटना भएकाले यथासक्य छिटो विस्थापितलाई पुनःस्थापना गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार

 
 
  
 

You may also like