अपरान्ह मन्त्रीहरुको शपथ, माओवादीको एक मन्त्रालय फेरियो

by समतल अनलाइन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) अपरान्ह मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले आफ्नो पार्टी नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादीले ५, जसपा र एकीकृत समाजवादी ४÷४ मन्त्री पाउने छन् भने कांग्रेस बाहेक सबैले मन्त्रीको टुङ्गो लगाइसकेका छन् । जसपाका नेता राजेन्द्र श्रेष्ठले आजै मन्त्रीहरुको शपथ हुने जानकारी आएको बताए । सो पार्टीबाट श्रेष्ठको नेतृत्वमा सरकारमा जाने निर्णय भइसकेको छ ।

माओवादीको एक मन्त्रालय फेरियो

नेकपा माओवादी केन्द्रले पाउने मन्त्रालयमध्ये एउटा परिवर्तन भएको छ । शुक्रबार बेलुका मन्त्रीहरुको शपथ ग्रहण अघि एउटा मन्त्रालय परिवर्तन भएको हो ।

यसअघि शिक्षा, भूमि व्यवस्था तथा सहकारी र खानेपानी मन्त्रालय पाएको माओवादीको भागमा परेको बताइएको थियो । तर खानेपानीको ठाउँमा युवा तथा खेलकूद मन्त्रालय माओवादीलाई दिने सहमति बनेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले खानेपानी आफैले राख्ने प्रस्ताव गरेपछि युवा तथा खेलकुद मन्त्रालय माओवादी केन्द्रको भागमा परेको हो । स्रोतका अनुसार माओवादी केन्द्रबाट थप हुने मन्त्रीमा शिक्षा मन्त्रालयको जिम्मेवारी देवेन्द्र पौडेलले पाउने छन् । यस्तै भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी महेश्वरजंग गहतराजले पाउने सम्भावना छ ।

युवा तथा खेलकूदमा शशि श्रेष्ठले पाउने लगभग समझदारी बनेको छ । तर, श्रेष्ठले भूमि मन्त्रालय लिन चाहेमा गहतराजको भागमा युवा मन्त्रालय पर्नेछ ।

 

 

 
 
  
 

You may also like