बुटवल उवासंघद्वारा गृहमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन ः तत्काल पहिरो व्यबस्थापन गर्न आग्रह

by समतल अनलाइन

बुटवल ।बुटवलको ज्योतीनगर लक्ष्मीनगर क्षेत्रमा गएको पहिरो व्यबस्थापन र पहिरो प्रभावितलाई उचित व्यबस्थापनको माग गर्दै बुटवल उद्योग बाणिज्य संघले गृहमन्त्री बालकृष्ण खाँण र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापन पत्र बुझाएको छ ।

बुटवल उद्योग बाणिज्य संघको टोलीले बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीलाई मुख्यमन्त्रीको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको हो भने जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत गृहमन्त्री खाँणलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउँदै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले ज्योतीनगर लक्ष्मीनगर क्षेत्रमा चेरेबाट झरेको पहिरो सिंगो बुटवललाई नै जोखिम हुनेगरी खडा भएकोले त्यसको दीर्घकालिन समाधानको खोजी गर्न आग्रह गर्नुभयो । ज्ञापन पत्र बुझ्दै लुम्बिनीका मुख्यमन्त्री केसीले लक्ष्मीनगर ज्योतीनगर क्षेत्रमा गएको पहिरो व्यबस्थापनको लागि प्रदेश सरकारको तर्फबाट काम सुरु गरिएको जानकारी गराउँदै पहिरो प्रभावितलाई तत्काल राहत र व्यबस्थापनको लागि गृहकार्य भईरहेको जानकारी गराउनु भयो ।

त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्राप्त ज्ञापन पत्र तत्कालै गृह मन्त्रालयमा पठाउने र बाँकी प्रशासनबाट गर्नुपर्ने कामको लागि आफू तयार रहेको जानकारी गराउनु भयो । त्यस अवसरमा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, कार्यसमिति सदस्य कृष्ण श्रेष्ठ समेतको सहभागिता थियो ।

 

 
 
  
 

You may also like