बुटवल उद्योग बाणिज्य संघले दशैंमा सस्तो बजार सञ्चालन गर्ने

by समतल अनलाइन

बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले दशैंमा सस्तो बजार सञ्चालन गर्ने भएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले यहि असोजको २१ गते घटस्थापना देखि २५ गते पञ्चमीको दिनसम्म सस्तो बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।

संघ सचिवालय बालमन्दिर परिषरमा सञ्चालन गरिने ५ दिनको सस्तो बजारमा नेपाल राष्ट्र बैंकबाट नयाँ नोट सटही, साल्ट ट्रेडिङ्, डिडिसी सहितका स्टलहरु राख्नेगरी दशैं सस्तो बजार सञ्चालन गर्ने निर्णय गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी गराउनु भयो ।

संघले प्रत्येक वर्ष दशैंमा सस्तो बजार सञ्चालन गर्दै आएको छ । तर कोरोना महामारीका कारण अंघिल्लो वर्ष दशैं सस्तो बजार हुन सकेको थिएन । यो वर्ष कोरोना महामारीको संक्रमण न्यून भएकाले स्वास्थ्य मापदण्डको पालना गरि सस्तो बजार सञ्चालन गरिने संयोजक कृष्ण श्रेष्ठ (कुलप्रसाद)ले बताउनु भयो । दशैं बजार सञ्चालनको समन्वय समितिले गर्ने र त्यसमा कार्यसमिति तथा बस्तुगत समितिहरुले सहयोग गर्ने संघले निर्णय गरेको छ ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकले यहि असोजको १८ गते गर्ने निर्णय भएको संघको ६८ औं वार्षिक साधारण सभा विविध कारणले अर्को निर्णय नगर्दासम्म स्थगित गरिएको छ । त्यस्तै संघको सल्लाहकार सभा यहि असोजको १६ गते गर्ने निर्णय गरिएको छ ।

त्यस्तै दोस्रो चरणको रुपन्देही नवउद्यमशाला कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दै यहि असोजको १५ गतेदेखि आवेदश आह्वान गर्ने निर्णय गरिएको छ ।

 
 
  
 

You may also like