एमाले कब्जा गर्न खोजिएको थियो:ओली

by समतल अनलाइन

बुटवल। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई देशभरीका कार्यकर्ताले जोगाएको बताएका छन् । उनले पार्टी ध्वस्त र समाप्त गर्न खोज्नेहरूबाट कार्यकर्ताले जोगाएको बताएका हुन् ।

बुटबलमा आयोजित कार्यकर्ता भेलामा ओलीले मुलुकलाई नेतृत्व गर्ने पार्टी ध्वस्त गर्न खोजिएको बताएका हुन् । ‘यो पार्टी ध्वस्त पार्न लागिएको थियो, समाप्त पार्न लागिएको थियो, कब्जा गर्न खोजिएको थियो । केही बच्यो भने प्रतिक्रियावादीहरूको पाउमा चढाउन खोजिएको थियो,’ उनले भने, ‘देशभरीका कार्यकर्ताहरूले पार्टी जोगाउनु भएको छ ।’

एमालेको सही नेतृत्व र विचारले नेपालमा कम्युनिष्ट आन्दोलन सफल हुने ओलीले दावी गरे । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा मुलुकले लिएको र त्यसको सफलता एमालेको नेतृत्व बिना नहुने उनको भनाइ थियो । अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकारले भत्काउन मात्रै जानेको बनाउन नजानेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले गठबन्धन सरकारले घण्टाघर बनाउने भनेर गरेको घोषणा हाँस्यास्पद भएको टिप्पणी गरे ।

‘यिनीहरुले घण्टाघर बनाउँछन् रे, यिनीहरुले बनाउँदैनन् भत्काउन मात्रै जानेका छन्, यिनीहरुले भत्काए भने पनि हामी बनाउँछौ घण्टाघर’ ओलीको भनाइ छ । उनले भूकम्पका बेला नेकपा एमालेले २७ हजार घर, १३ हजार स्कुल र चौकीहरू बनाएको भन्दै अब एमाले परोपकारी संस्थाका रुपमा हाजिर भइरहेको र अझै भइरहेको अझ भइरहने दावी गरे ।

 
 
  
 

You may also like