आफ्नो भवनका व्यबसायीलाई बुटवल उद्योग वाणिज्य संघद्वारा एक महिनाको भाडा छुट

by समतल अनलाइन

बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले बुटवलको संगम पथमा रहेको संघको भवनमा भाडामा व्यबसाय सञ्चालन गरेका व्यबसायीहरुलाई १ महिनाको भाडा छुट गरेको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले एक महिनाको भाडा छुट गर्नुको साथै चालु वर्ष भाडा बृद्धि नगर्ने समेत निर्णय गरेको हो ।

कोरोना महामारीका कारण व्यापार व्यबसाय बन्द गर्नुपरेको र बन्द हटेपनि व्यापारमा मन्दि आउँदा व्यबसायी मर्कामा परेकाले केही भएपनि राहत होस भनेर १ महिनाको भाडा छुट गर्नुको साथै भाडा बृद्धि नगर्ने निर्णय गरिएको संघका महासचिव बिमलराज भट्टराईले बताउनु भयो । त्यस्तैगरी संघले घरधनीहरुलाई आफ्नो घरमा व्यबसाय सञ्चालन गरेका व्यबसायीलाई आफू सक्दो भाडा छुट गर्न समेत आग्रह गरेको छ ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकले संघका पूर्व अध्यक्ष तथा सल्लाहकार सुरेन्द्रप्रसाद श्रेष्ठ लुम्बिनी बाणिज्य क्याम्पस सञ्चालक समितिको उपाध्यक्ष र पूर्व अध्यक्ष कुशप्रसाद मल्ली नेपाल सरकारको विभुषण समितिको सदस्यमा मनोनित हुनु भएकोमा दुबैजनालाई बधाई ज्ञापन गरेको छ ।

बैठकले चालु आर्थिक वर्षको संघको प्रस्तावित अनुमानित आयव्यय समेत पारित गरेको छ । बैठकमा वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले चालु आर्थिक वर्षको प्रस्तावित आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पूर्व अध्यक्षहरु निर्मलप्रसाद लाकौल र सुरेन्द्रप्रसाद श्रेष्ठले धारणा सहित सुझावहरु राख्नुभएको थियो । त्यस्तै विषयगत संयोजकहरुले विषयगत समितिमा भएका कृयाकलापहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

संघको गुणस्तर प्रमाण चिन्ह अध्यावधिक

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको गुणस्तर प्रमाण चिन्ह अध्यावधिक भएको छ । संघले गुणस्तर व्यबस्थापन प्रणाली आई.एस.ओ. ९००१ः २०१५ मा परिमार्जित भई गुणस्तर प्रमाणित भएको हो । संघको गुणस्तर प्रमाण चिन्ह आई.एस.ओ. ९००१ः २००८ प्रभाणित थियो ।
हालै गुणस्तर प्रमाण चिन्ह आ.ई.एस.ओ. ९००१ः २०१५ प्राप्त भएको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी गराउनु भयो । संघले गुणस्तरीय व्यबस्थापन प्रणाली स्थापनाको लागि सन् २००० देखि नै व्यबस्थापन सुधारका काम गर्दै आएको थियो । जसका कारण आई.एस.ओ. ९००१ः २००८ हुँदै आई.एस.ओ. ९००१ः २०१५ प्राप्त गरेको हो ।

 
 
  
 

You may also like