पुग्दो छ त अक्सिजन ?

काठमाडौ। कोरोना महामारीको दोस्रो लहरमा अक्सिजनको चरम अभाव झेल्नु पर्‍यो। धेरै बिरामीले अक्सिजन नपाएर ज्यान गुमाए । व्यक्ति–व्यक्तिदेखि राज्यका विभिन्न निकायसम्म अक्सिजनको जोहो गर्न लागिपरे ।

मुलुकभर फेरि विस्तारै महामारीको तेस्रो लहरको जोखिम देखिँदै छ । के अब तेस्रो लहर आइहाले त्यसलाई थेग्न सक्ने अक्सिजन व्यवस्थापन हुन्छ त ? कतिपय प्रदेश यसमा तयार छन् । केही सुस्त देखिन्छन् । केहीमा कामै भएको छैन ।

कोरोना संक्रमण फेरि बढिरहँदा प्रदेश १ का अस्पतालहरूमा धमाधम अक्सिजन प्लान्ट निर्माण भइरहेका छन् । ६ जिल्लाका अस्पतालमा प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन सुरु भइसकेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अन्य आठ जिल्ला अस्पतालमा प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ ।

सूचना अधिकारी षणानन्द भट्टराई झापाको मेची अस्पतालसहित पाँचथर, भोजपुर, संखुवासभा, उदयपुर र धनकुटा जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु भइसकेको बताउँछन् । प्रदेश सरकारले प्रत्येक अस्पताललाई १ करोड ५० लाखका दरले बजेट छुट्याएको थियो । संघीय सरकारका तर्फबाट पनि अस्पतालहरूमा धमाधम प्लान्ट निर्माण भइरहेको भट्टराई बताउँछन् । ‘कतै प्लान्ट निर्माण भइसके, कतै अन्तिम चरणमा रहेकाले अक्सिजनमा कुनै पनि अलमल छैन’, उनी भन्छन् ।

झापामा ठूलो अक्सिजन प्लान्ट नभएकाले त्यसको व्यवस्थापनमा जुट्न स्थानीय तह र अस्पतालहरूलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना बताउँछन् । भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा दैनिक ३५ सिलिन्डर उत्पादन गर्ने अक्सिजन प्लान्ट जडान गरिएको अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलको भनाइ छ । ‘यो प्लान्टले मेची अस्पतालको अहिलेको मागको २५ प्रतिशत मात्रै धान्छ’, अध्यक्ष पोर्तेल भन्छन्, ‘अरू विकल्पको खोजी हुँदैछ ।’

सरकारले मेची अस्पतालमा दैनिक १ सय ५० सिलिन्डर क्षमताको प्लान्ट स्थापना गर्न ३ करोड रुपैयाँ उपलब्ध गराएको थियो । तर, समयमा काम हुन नसक्दा त्यो बजेट फिर्ता गएको छ । मेडिकल एसोसिएसनले १ सय १५ सिलिन्डर क्षमताको प्लान्ट जडान गरिदिने आश्वासन दिएको छ । साउनभित्रै त्यसको काम सुरु हुने अध्यक्ष पोर्तेलको भनाइ छ । बिर्तामोडस्थित बीएन्डसी अस्पतालले दैनिक ५० सिलिन्डर अक्सिजन उत्पादन गरिरहेको छ ।

त्यसले आन्तरिक माग पनि धान्न नसकेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरी बताउँछन् । कनकाई नगरपालिकामा २ करोड खर्चिएर दैनिक सय सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट स्थापनाको काम अघि बढाइएको छ । ‘एकका लागि एक अभियान’ले पनि अक्सिजन बैंक खोलेको छ । अक्सिजन अभाव देखिएपछि अक्सिजन बैंक स्थापना गरिएको संयोजक महेन्द्रकुमार गिरीको भनाइ छ । १ करोड ६५ लाख रुपैयाँ संकलन भएको जनाइएको छ । पहिलो चरणमा चीनबाट ४० लिटर क्षमताका ५ सयवटा सिलिन्डर ल्याएर अक्सिजन बैंक स्थापना गरिएको हो ।

सुनसरी र मोरङका उद्योगले अक्सिजन उत्पादन गर्छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जडान गरिएको प्लान्टबाट प्रतिमिनेट १ हजार ६ सय लिटर अक्सिजन उत्पादन हुँदै आएको सहायक निर्देशक डा. प्रमोद बरालको भनाइ छ । प्लान्ट बिग्रिए ‘लिक्विड अक्सिजन ट्यांक’मार्फत बिरामीलाई सेवा दिइने डा. बराल बताउँछन् । सुनसरीको सोनापुरमा विनायक, खनारमा पाथीभरा र दुर्गा अक्सिजन उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल तीन उद्योगबाट दैनिक २ हजार ५ सय सिलिन्डर भर्न सकिने बताउँछन् ।

विराटनगरको कोसी अस्पतालले पनि दैनिक सय सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट सञ्चालनमा ल्याएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास प्लान्ट सञ्चालनमा ल्याउनासाथ ५० प्रतिशत बिरामीलाई सहज हुने बताउँछन् । अपुग अक्सिजन बाहिरबाट मागिने उनको भनाइ छ ।

मोरङमा मारुती र हिमाल उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन् । दुई अक्सिजन प्लान्टबाट दैनिक १ हजार ५ सय सिलिन्डर अक्सिजन उत्पादन हुने प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला बताउँछन् । निरौलाका अनुसार सबै अस्पताललाई बिरामीको चापका आधारमा वितरण गर्ने गरिएको छ । कोसी अस्पताल कोभिड–१९ केन्द्रका प्रमुख वैजनाथ साह भने यसअघि महामारी उत्कर्षमा पुग्दा माग गरेजति अक्सिजन नपाइएको बताउँछन् । दैनिक संक्रमित बढिरहेका कारण आपतकालीन समयमा समस्या हुन नदिन अक्सिजन तयारी अवस्थामा राख्नुपर्ने साहको भनाइ छ ।

महामारीको दोस्रो लहर उत्कर्षमा पुग्दा अक्सिजन अभावका कारण प्रदेश २ का अस्पतालहरूमा बिरामीलाई भर्ना नलिने र अधिकांशलाई रेफर गर्नुपर्ने बाध्यता थियो । तर, सम्भावित तेस्रो लहरमा अक्सिजन अभाव पहिले जस्तो नहुने प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोदकुमार यादव बताउँछन् ।

दोस्रो लहरका बेला प्रादेशिक अस्पताल जनकपुरको कोभिड वार्डमा प्रत्येक दिन सय सिलिन्डर खपत हुन्थ्यो। तर, आपूर्ति कहिले ३० त कहिले ४० मात्रै हुँदा उपचारमा समस्या आएको थियो । अवस्था सामान्य हुँदै गएपछि ३ सय सिलिन्डर तयारी अवस्थामा राखिएको यादवको भनाइ छ ।

‘हामीसँग ३ सय सिलिन्डर छन्, जसमध्ये ५० वटा प्रदेश सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सञ्चालन गरेको कोभिड विशेष अस्पतालमा पठाएका छौं । बाँकी सबै हामीसँग छन्’, उनी भन्छन्, ‘हामीसँग अक्सिजन प्लान्ट मेसिन पनि उपलब्ध छ । त्यसको सञ्चालनका लागि सम्पूर्ण बन्दोबस्त पूरा गर्न तदारुकताका साथ काम भइरहेको छ ।’ प्लान्ट प्रत्येक दिन डेढ सय सिलिन्डरसम्म भर्न सक्ने क्षमताको रहेको उनको भनाइ छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

 
 
  
 

You may also like