दार्चुला घटनाको सत्य–तथ्य छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मी (एसएसबी) ले तुइन काटिदिंदा नेपाली युवा बेपत्ता भएको घटनाबारे सत्यतथ्य छानबिन गर्न सत्तारुढ नेपाली कांग्रेसले माग गरेको छ ।

नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका छन् । दार्चुलाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा तुइन काटिदिँदा उनी नदीमा वेपत्ता भएका हुन् ।

सो घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक रहेको कांग्रेसले जनाएको छ । कांग्रेसले घटनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन-दिलाउन माग गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति प्रकाशित गरी आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने विश्वास लिएको’ बताएका छन् ।

 

 
 
  
 

You may also like