यो सरकारलाई गल्ती गर्ने छुट छैन : गगन थापा

कांग्रेसको महाधिवेशन सार्न नपाइने पार्टी नेतृत्वलाई चेतावनी
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता गगनकुमार थापाले वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताएका छन् । नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्युज’ नपाउने उल्लेख गर्दै कहींकतै नचुक्न पनि आग्रह गरेका हुन् ।

अब केपी ओलीको आलोचना गर्ने दिन सकिएको थापाले बताएका छन् । उनले कांग्रेसको महाधिवेशन सार्न नपाइने पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् । बिपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने बताए ।

नेता थापाले भने, ‘कुनै पनि ‘एक्सक्युज’ यो सरकारले पाउने छैन । एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन । केपी ओलीले यो गरेन, त्यो गरेन भनेर भन्ने दिन अब गए । अब यो अभावमा रहेका नागरिकलाई सरकार भनेको कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने हो । त्यसै गरी ओली नेतृत्वको सरकारले गएको साढे तीन वर्षमा संविधानको आधारनै भत्काउने काम गरेको छ । संविधान र व्यवस्थामाथि नै अनेकन आशंका उब्जाउने जुन काम गरेको छ, त्यसलाई थितिमा ल्याउने काम वर्तमान सरकारले गर्नु पर्दछ ।’

नेता थापाले सरकारलाई सफल बनाउन पार्टीले सहयोग गर्नुपर्ने आवश्यकता पनि औंल्याए । फरक प्रसङ्गमा उनले पार्टीको आसन्न १४ औं महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई चेतावनी समेत गरे । ‘पार्टीको महाधिवेशनको तिथिमिति धेरै तलमाथि गर्न पाइँदैन । हाम्रो संविधानले पाँच वर्षपछि पार्टीको महाधिवेशनको मिति ६ महिना थप गर्न मिल्ने व्यवस्था गरेको छ,’ नेता थापाले भने, ‘संविधानको सो व्यवस्थाअनुसार अब महाधिवेशनको मिति पछि सार्न मिल्दैन । संविधानले किटान गरेको व्यवस्था कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले उल्लंघन गर्न मिल्दैन ।’

 
 
  
 

You may also like