‘गोहीको आँशु चुहाएर तपाईलाई कसैले पत्याउँछ ?’ – प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेलाई सत्ता बाहिर हुँदा पनि ढाँठछल नगर्न चेतावनी दिएका छन् ।

दोस्रोपल्ट पुनः स्थापित संसदमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् । संसद्को बैठकमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामी राष्ट्रपति कार्यालयमा अस्वाभाविक परिघटना भए । त्यहाँ प्रधानमन्त्री नियुक्तिमा प्रयोग भएको भाषा संविधानको मर्म र भावनाविपरीत थियो । शपथ ग्रहण रोकिएको थियो । हरेक पटक हामी शान्ति प्रक्रियामा आएपछि पनि आउने र जाने प्रधानमन्त्री साइड बाइ साइड कुर्सीमा बस्ने परम्परा थियो । शपथपछि कुर्सी साटिन्थ्यो । तर अहिले शेरबहादुर देउवाका सन्दर्भमा देखिएन । निवर्तमान प्रधानमन्त्री उपस्थित हुनुभएन । को भित्र लोकतान्त्रिक संस्कार छ ? भिन्न मतलाई स्वीकार गर्न सक्ने क्षमता को सँग छ ? नैतिकता र संस्कारको प्रश्न हो भन्ने ठान्छु त्यो ।’

उनले व्यक्तिवाद, अहंकारवाद, चरम महत्वाकांक्षा ओलीमा रहेको बताएका छन् । ‘भन्ने एउटा गर्ने अर्को ? त्यसको साक्षी हामी थिएनौं ?’, दाहालले भने, ‘हामी ज्युँदै छौं र उपस्थित छौं के, अब चल्दैन । किन पत्याउने तपाईंलाई ? गोहीको आँशु देखाउने ? प्रणालीको चिन्ता अझै ?’

अध्यक्ष ‘प्रचण्ड’ ले गोहीको आँशु चुहाएर अब कसैले पत्याउँछ भनेर नेकपा एमालेका नेताहरूलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा एमालेलाई टाउको दुख्नुपर्ने कारण नरहेको प्रष्ट पारे ।

एमालेका नेताहरूले संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलीयता निम्त्याउने, लोकतन्त्र सङ्कटमा पर्ने भनेर दिँदै आएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रचण्डले गोहीको आँशु नबगाउन सुझाव दिए । उनले प्रश्न गरे, ‘संविधानको अन्तिम व्याख्या गर्ने सर्वोच्च अदालत भनेर लेख्ने हामी नै होइन ?’ अदालतले अन्ततः संविधानको मर्म र भावनाअनुरूप संसद् पुनर्स्थापना गरेको भन्दै उनले संविधानमा लेखिएबमोजिम काम हुँदा लोकतन्त्र मिचियो भनेर कराउनुको अर्थ नहुने प्रष्ट पारे ।

प्रचण्डले निवर्तमान प्रधानमन्त्री सत्ता हस्तान्तरण प्रक्रियामा सहभागी नहुनु पनि आश्चर्यजनक रहेको बताए । ‘को भित्र लोकतान्त्रिक चरित्र छ, कोसँग भिन्न परिस्थिति सामना गर्न सक्ने आँट छ भन्ने परिदृश्य त्यसले प्रस्ट भएको छ,’ उनले भने ।

 
 
  
 

You may also like