देउवा पहिला श्रीमान ५ बाट अहिले पाँच न्यायधीशबाट प्रधानमन्त्री नियुक्त : ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरेका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै ज्ञवालीले ०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको बताएका हुन् । सम्बोधनका क्रममा ज्ञवालीले ‘पटक–पटक असफल’ भइसकेका देउवालाई ‘म कसरी शुभकामना भनौं’ भनेका छन् ।

ज्ञवालीले भने, ‘इतिहास दुइपटक दोहोरिन्छ । अहिले इतिहास विद्रुप भएर दोहोरिएको छ । २०५१ सालमा गिरिजाप्रसाद कोइरालाको सरकार नीति तथा कार्यक्रममा कांग्रेसकै ३६ जना सांसद अनुपस्थित भएर सरकार नै ढल्यो । ५३ सालमा शेरबहादुर देउवाजी नै प्रधानमन्त्री हुनुहुन्थ्यो, आफ्नै दलका दुई जना अनुपस्थित भएर सरकार ढल्यो । ५९ साल जेठमा संकटकालिन प्रस्तावमा उहाँकै पार्टीले समर्थन गरेन । पछि उहाँलाई चुनाव गराउन नसकेको आरोपमा पदबाट बखास्थ गरियो । त्यसैले पहिले तीन–तीन पटक दल विभाजन भएर सरकारबाट बाहिरिएका शेरबहादुर देउवा अहिले ७६ (५) को अपव्याख्याबाट प्रधानमन्त्री बन्नु भएको छ । २००६ सालमा स्थापित कम्युनिस्ट पार्टीलाई ८ सालमा कांग्रेस समेत संलग्न सरकारले प्रतिबन्ध लगाएको थियो । त्यसपछि त कत्ति कत्ति । त्यसैले हामीलाई प्रतिपक्षमा बस्नु र प्रतिबन्धित हुनु सामान्य लाग्छ ।’

 

 
 
  
 

You may also like