माधव पक्ष बिनै देउवालाई बहुमत, विश्वासको मत लिने प्रक्रिया शुरु

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । यस निर्णयसँगै एमालेको माधव समूहका कुनै सांसद् मत नदिए पनि देउवाको पक्षमा बहुमत पुग्ने निश्चित देखिएको छ ।

यसअघि देउवाको पक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको १, जसपा उपेन्द्र समूहको २० गरी १ सय ३१ मत सुनिश्चित थियो । अब महन्थ पक्षको १२ थपिएसँगै देउवाको पक्षमा १४३ मत सुनिश्चित भएको छ । विश्वासको मतका लागि १३६ मत आवश्यक पर्छ । माधव नेपाल समूहका सांसदहरुले पनि देउवालाई मत दिने तयारी गरिसकेका छन् ।
विश्वासको मत लिने प्रक्रिया शुरू
प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया शुरू भएको छ । जारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विश्वासको मत माग्ने छन् ।

आइतबार पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो दिन दोस्रो पटक बसेको बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमा छलफल भइरहेको हो । यसअघि, संसद भवन नयाँबानेश्वरमा बसेको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाइएको थियो भने विभिन्न अध्यादेश पेश गरिएको थियो ।

 

 
 
  
 

You may also like