कुबेतमा अलपत्र २८ नेपाली कामदारको तत्काल उद्धार गर्न श्रममन्त्री विष्टको निर्देशन

१५ साउन, काठमाडौ । कुबेतमा अलपत्र २८ नेपाली कामदारको तत्काल उद्धार गर्न र मेनपावरलाई कारवाही गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निर्देशन दिएका छन् ।

मेनपावर व्यवसायीको चरम लापरबाहीका कारण कुवेतमा अलपत्र परेका २८ नेपालीमध्ये २३ जना जेल चलान नै गरेपछि बल्ल मन्त्री विष्टले उद्धार गर्न तत्परता देखाएका हुन् ।

कम्पनी र म्यानपावर व्यवसायीले चरम लापरबाही गर्दा २३ जना जेलमा परेका हुन् । बाँकी ५ जना सडक पेटीमा रात काट्न बाध्य छन् ।

यो खबर नागरिकखबर डटकममा प्रकाशित तथा प्रसारित भएपछि मन्त्री विष्टले तत्काल उद्धार र कामदार पठाउने मेनपावरलाई तत्काल कारवाही गर्न रोजगार विभागका महानिर्देशक डा. भीष्म भुसाललाई निर्देशन दिएका छन् ।

काठमाडौंको सिनामंगलमा रहेको सारोन म्यानपावर सर्भिसेसबाट २८ जना कुवेत पुगेका थिए । सारोनमार्फत अप्रिल १०, ११ र १५ मा कुवेतमा रहेको कम्पनीमा कामका लागि गएका उनीहरुले काम पनि नपाएको र सडक पेटीबाट २३ जनालाई स्थानीय प्रशासनले केही दिनदेखि जेलमा लगेको हो ।

अलपत्र परेका नेपाली कामदारको भिसाको म्यादसमेत सकिएको छ । कुवेती कानुन अनुसार प्रतिव्यक्ति साढे दुई सय कुवेती दिनार अर्थात झण्डै ९१ हजार नेपाली रुपैयाँ तिर्नुपर्ने भएपछि उनीहरुलाई कुवेतको प्रशासनले जेल हालेको हो ।

नेपालबाट प्रतिव्यक्ति १ लाख ८० हजार रुपैयाँ म्यानपावर कम्पनीलाई बुझाएर गएका २८ जनाले ४ महिनासम्म पनि काम, दाम र माम पाएनन् । केही दिनदेखि २३ जनाले जेल सजाय भोगिरहेका छन् । जेलबाहिर रहेका ५ जना भने बहबुल्लाहको ड्राइभर क्याम्पको बाहिर पट्टी बसिरहेका छन् ।

म्यानपावर कम्पनीका सञ्चालक श्याम क्षेत्रीले आफूले अलपत्र र जेलमा रहेका नेपाली कामदार ल्याउनका लागि पहल गरिरहेको बताएका छन् । उनले श्रमसहचारी ज्ञानेन्द्र शर्मा मार्फत जेलमा रहेका नेपालीको अवस्था बुझिरहेको बताए ।

जेल बाहिर रहेकालाई आफूले नै खाने व्यवस्था मिलाएको बताउँदै उनले भने, ‘नेपाल ल्याउनका लागि एक जनाको झण्डै साढे दुई सय केडी तिर्नु पर्छ ।

धेरै पैसा तिर्न नसकेर उनीहरु जेल परेका हुन । कम्पनीले तिर्नु पर्छ । मेरो आफ्नो लाखौं रुपैयाँ समेत डुबेको छ । उनीहरुको अवस्था देखेर मलाई पनि चिन्ता लागेको छ ।’

कामदार अलपत्र परेपछि तत्काल उद्दारका लागि पहल नगरेपछि यो समस्या आएको हो । श्रममन्त्रीदेखि परराष्टमन्त्रीसमेतलाई मिलाएको भन्दै सञ्चालक क्षेत्रीले कामदारहरुलाई धम्कीसमेत दिएको स्रोतको भनाइ छ ।

 
 
  
 

You may also like