देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।
बिहीबार दिउँसो दुई बजे बस्ने बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकस्थल भने तय भइसकेको उनले बताए । मुख्यसचिव पौडेलले महाधिवेशनको तयारी, मन्त्रिमण्डल गठन र सरकारका काम कारवाहीबारे छलफल हुने बताए । कांग्रेस सभापति देउवा मंगलबार प्रधानमन्त्री नियुक्त भएका हुन् । देउवाले पहिलो चरणमा चार जना मन्त्री नियुक्त गरेका छन् । कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण र कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।

कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्री चयनका बारेमा पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ । त्यस्तै भदौ दोस्रो साताका लागि तोकिएको कांग्रेस महाधिवेशनको तयारीका बारेमा पनि बैठकमा छलफल हुने मुख्यसचिव पौडेलले जानकारी दिए ।

उनका अनुसार पार्टीको निर्वाचन समितिले महाधिवेशनका लागि तयार पारेको निर्वाचन निर्देशिकामाथि छलफल हुनेछ । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६–१९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका तय गरिएको छ । केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको सात सदस्यीय क्रियाशील सदस्यता छानविन समितिले सदस्यता टुंग्याउने काम अन्तिम चरणमा पुर्‍याएको छ ।

 
 
  
 

You may also like