देशभरका यी ४९ अस्पतालबाट ज्येष्ठ नागरिकको निःशुल्क र सहुलियतमा उपचार

काठमाडौं । सरकाले देशभरका ४९ अस्पतालबाट ६० वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क तथा सहुलियतमा स्वास्थ्य उपचार सेवा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थिक वर्ष २०७८-०७९ का लागि जेरियाट्रिक स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन जारी गर्दै ४९ अस्पतालबाट निःशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको हो ।

यसअघि सरकारले २४ वटा अस्पतालबाट ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा प्रदान गर्दै आएकोमा २५ अस्पतालमा यो सेवा थप गर्न लागेको हो ।

जेरियाट्रिकमैत्री स्वास्थ्य सेवा थप गरिनेमा प्रदेश–१ मा इलाम, संखुवासभा र सुनसरीमा गरी ३ वटा, प्रदेश–२ को बारा, सिराहा, सर्लाही र महोत्तरीमा गरी ४ वटा, वाग्मती प्रदेशमा भक्तपुर, धादिङ, नुवाकोट, काठमाडौं र काभ्रेमा गरी ५ वटा, गण्डकी प्रदेशका गोरखा र म्याग्दीमा २ वटा, लुम्बिनीका नवलपरासी, बर्दिया, प्युठान,पाल्पा, रोल्पा र दाङमा गरी ६ वटा, कर्णली प्रदेशको जाजरकोट र सुर्खेतमा गरी २ वटा र सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, दार्चुला र कैलालीमा गरी ३ वटा अस्पताल छन् ।

यस सेवा अन्तर्गत निम्न उमेर समूहका नागरिकले निःशुल्क तथा सहुलियतमा स्वास्थ्य सेवा पाउने जनाइएको छ ।
१) ६० देखि ६९ उमेरका नागरिकलाई निश्चित उपचार सम्बन्धित अस्पतालले तोकेको स्वास्थ्य सेवामा ५० प्रतिशत छुट ।
२) ७० देखि ७९ वर्षका नागरिकलाई शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा सम्बन्धित अस्पतालले तोकेको उपचार सेवामा ७५ प्रतिशत छुट ।
३) ८० देखि ८४ उमेरका नागरिकलाई सम्बन्धित अस्पतालले तोकेको उपचारमा शत प्रतिशत छुट ।
४) ८५ बर्षमाथिका नागरिकलाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवाहरू निःशुल्क ।

यो सेवा प्रयोग गरिरहँदा व्यक्तिले प्राइभेट वार्ड अथवा क्याबिनमा बसी उपचार गर्न चाहेमा सो सेवा प्रयोग गरे वापतको शुल्क भने छुट नहुने मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like