देउवाद्वारा प्रधानमन्त्रीको शपथ अस्वीकार, नियुक्ति सच्याउनु पर्ने अडान

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै आपति जनाएका देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार गरेका हुन् । बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ति नसच्चिएसम्म सपथ ग्रहण नहुने बताएका हुन् ।

उनले राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने अडान लिएका स्रोतले जानकारी दिएको छ । राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गरेकी छिन् ।

तर देउवाले भने आफूले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गरेको र सर्वोच्च अदालतले त्यसै धारा अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको भन्दै राष्ट्रपतिलाई नियुक्ति सच्याउन आग्रह गरेका हुन् । देउवाले विज्ञप्ति सच्याउने निर्देशन दिएपछि यस विषयमा राष्ट्रपतिसँग छलफल गर्ने भन्दै मुख्यसचिव बूढानीलकण्ठबाट बाहिरिएका छन् । यो समाचार तयार गर्दासम्म राष्ट्रपति कार्यालयबाट विज्ञप्ति सच्चिएको जानकारी आएको छैन । विज्ञप्तिबारे विवाद भएपछि साँझ ६ बजे हुने भनिएको शपथ अझै शुरु हुन सकेको छैन ।

यस्तो छ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति

 
 
  
 

You may also like