जनताको जनादेशले होइन, सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिँदैछु : ओली

‘सर्वोच्चको फैसलाले संविधान संशोधन गर्‍यो’
काठमाडौं।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेशका कारण आफू सरकारबाट बाहिरिनु परेको बताएका छन् । सरकारबाट बाहिरिंदै गर्दा राष्ट्रका नाममा सिंहदरबारबाट सम्बोधन गर्दै उनले सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको मुद्दामा सोमबार फैसला गरेको थियो ।

सर्वोच्च अदालतले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो । संविधानको धारा ७६ को उपधारा ५ मा ओली दाबी गर्न अयोग्य रहेको पनि परमादेशमा लेखिएको थियो । यसतर्फ उल्लेख गर्दै मंगलबार ओलीले भने, ‘जनताको जनादेशले होइन सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिँदैछु ।’

सरकारबाट बाहिरिँदा आफूलाई कुनै चिन्ता नरहेको ओलीले बताएका छन् । आफूले पदमा रहँदा इमानदारीका साथ काम गरेको पनि ओलीले दाबी गरे । ‘सरकारबाट बाहिरिनु परेकामा चिन्ता छैन । इमानदारिताका साथ देशको समृद्धि, सुशासन, विकास यी कुराहरूलाई ध्यानमा राखेर जनतालाई सेवा, सुविधा पुर्‍याउने कुरालाई ध्यानमा राखेर काम गरेको छु । विकासका निम्ति नयाँ भिजन दिएर अगाडि बढाएको छु,’ ओलीले भने ।

आफ्नो कार्यकालमा मुलुकमा चौतर्फी विकास भएको ओलीले दाबी गरेका छन् । उनले भने, ‘जनताले राहत महसुस गरेको छ । त्यसकारण म बिदाइप्रति खुशी छु । ढुक्क छु । चिन्ता छैन ।’

ओलीले सर्वोच्च अदालतको सोमबारको फैसलाले संविधान संशोधन गरेको बताएका छन् । सत्ताबाट बहिर्गमन भएसँगै सिंहदरबारबाट विदाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलाले शक्ति सन्तुलन सिद्धान्तमाथि प्रहार भएको बताएका हुन् ।

उनले भने, ‘अत्यधिक न्यायिक प्रक्रियामा अघि बढेर कहिलेकाहीं मागै नगरेको विषयमा हात हालेको छ ।’ सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना हुने फैसला गर्दै शेरबहादुर देउवालाई आज ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्ने परमादेश दिएको थियो । जस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छिन् । साँझ ६ बजे शपथको कार्यक्रम तय भएको छ ।

 
 
  
 

You may also like