किसानको धान रोपिदिंदै विप्लवका कार्यकर्ता

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले महोत्तरीमा जनश्रमदान गरेर धान रोपाइँ गरेका छन् ।

बर्दबास नगरपालिका– ६ चौलिखाका शेरबहादुर बुर्जा, तेजु बुर्जासहितका किसानको झण्डै तीन विघा खेतमा धान रोपिएको पार्टीका महोत्तरी सेक्रेटरी पवन महतोले जानकारी दिएका छन् । रोपाइँ कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य देव नारायण साह, युवा संगठनका महोत्तरी अध्यक्ष तिलक लामा लगायतको सहभागिता थियो ।

‘हाम्रो रोपाइँ अभियानमा स्थानीयले पनि सक्रियतापूर्वक सहभागिता जनाउनु भएको छ,’ महतोले भने, ‘अझै केही किसानको धान रोप्ने तयारी हामी गरिरहेका छौं ।’ उनले पार्टीका १५ जना कार्यकर्ता रोपाइँ कार्यक्रममा सहभागी भएको बताए ।

‘हामीलाई सम्बन्धित जग्गा धनी किसानले खाने बस्ने व्यवस्था गरिदिनु हुन्छ । हाम्रो टोलीले उहाँहरुको खेतमा गएर निःशुल्क धान रोपिदिन्छ,’ उनले भने । केही किसानको आफूहरुले मकै पनि गोडिदिएको महतोले बताएका छन् ।

 

 
 
  
 

You may also like