आफूखुशी नम्बर दिएको आरोपमा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक यादव बर्खास्त

काठमाडौं। आर्थिक प्रलोभनमा परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुशी नम्बर दिएर उत्तीर्ण गराएको आरोपमा मध्यपश्चिम विश्वविद्यालयले इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक एवम् उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरेको छ ।

परीक्षामा भएको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले यादवलाई दोषी देखाएपछि सेवाबाट बर्खास्त गरिएको उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले जानकारी दिए । उपकुलपति सिंहले भने, ‘अक्षम्य शैक्षिक अपराध गरेकाले सेवाबाट बर्खास्त गरेको हुँ ।’

विद्यार्थीको आन्तरिक मूल्यांकनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर यादवले मनलाग्दी रुपमा नम्बर दिएको उजुरी विद्यार्थीहरुबाट परेको थियो । त्यस विषयमा छानविन गर्न दीपबहादुर रावलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । समितिले अक्षम्य अपराध भएको ठहर गर्दै विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । ‘छानविन समिति बनाएर, सफाइको मौका दिएर बर्खास्तको निर्णय गरिएको छ,’ उपकुलपति सिंहले भने ।

मध्यपश्चिम विश्वविद्यालयमा कन्सट्रक्सन म्यानेजमेन्ट र स्ट्रक्चरल इन्जिनियरिङ विषय पढाइ हुने गर्दछ । स्ट्रकचरल इन्जिनियरिङ विषयको अन्तिम परीक्षाको प्रयोगात्मकमा आफूखुशी नम्बर दिएको पाइएको छानविन समितिको ठहर छ । प्रयोगात्मक परीक्षा ४० नम्बरको हुन्छ । सो परीक्षामा १३ जना विद्यार्थीहरुलाई ४० मा ४० नम्बर दिएको पाइएको छ । यसैगरी कन्सट्रक्सन म्यानेजमेन्टका चार वटै विषयमा विद्यार्थीहरुलाई ३४ देखि ३७ नम्बरको दरले समान नम्बर दिइएको छ ।

परीक्षामा अनियमितता गरेको भनेर गल्तीसमेत स्वीकारेकाले कारबाही गरिएको उपकुलपति सिंह बताउँछन् । उनले भने, ‘मबाट गल्ती भयो, माफ पाउँ भनेका छन्, तर मैले माफ दिन सक्दिनँ । विश्वविद्यालय सुधार गर्ने कसम खाएको हुँ, सुधार गरेरै छाड्छु ।’

 

 
 
  
 

You may also like