जसपाका दुवै पक्ष आज निर्वाचन आयोग जाँदै, होला मेलमिलाप ?

काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै पक्षलाई आन्तरिक मेलमिलापका लागि आज (मंगलबार) बोलाएको छ । जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो ।

यादव पक्षको निवेदनपछि आयोगले महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । महन्थ पक्षले जवाफ दिएपछि आयोगले दुवै पक्षलाई मेलमिलापका लागि बोलाएको हो ।

कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले भिडभाड हुने भन्दै ७–७ जनालाई मात्र उपस्थित हुन भनिएको आयोगका एक अधिकारीले बताएका छन् । आजको छलफलमा आयोगका प्रमुख आयुक्त, आयुक्त, आयोगका केही कर्मचारी, दुवै पक्षका नेताहरु र कानुन व्यवसायी रहने जनाइएको छ ।

दुई पक्षबीच आपसी समझादरी कायम भए सोही अनुसार निर्णय हुनेछ । सहमति नभए इजलास गठन प्रक्रियाबाट अघि बढ्ने छन् । मेलमिलापका लागि बोलाए पनि स्रोतका अनुसार उनीहरुबीच यो सम्भावना छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पक्ष–विपक्षमा विभाजित भएको जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएको थियो । महन्थ ठाकुर र राजेन्द्र महतो समूह पक्षमा थियो । ठाकुर र महतो ओली नेतृत्त्वको सरकारमा सहभागी पनि भएको थियो । तर, सर्वोच्च अदालतले कामचलाउ सरकारका प्रधानमन्त्रीलाई सरकार पुनरगठन तथा विस्तारको अधिकार नहुने भन्दै फैसला गरेपछि थपिएका मन्त्रीहरु स्वतः पदमुक्त भएका थिए ।

 

 
 
  
 

You may also like