ब्यूँतियो एमाले ‘कार्यदल’, सिंहदरबारमा वैठक

काठमाडौं। नेकपा एमालेको एकता जोगाउन गठन गरिएको कार्यदल पुनः ब्यूँतिएको छ । कार्यदलको बैठक सोमबार बेलुका ६ बजे सिंहदरबारमा बस्दैछ ।

कार्यदलमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

२ जेठमा गठित कार्यदलको बैठक ६ जेठ पछि बस्न सकेको थिएन । कार्यदलका संयोजक रावललाई १२ जेठमा अध्यक्ष ओलीले निष्कासन गर्ने निर्णय गरेपछि कार्यदल निष्क्रिय भएको थियो । सोमबार दिनभर कार्यदलका सदस्यहरुबीच भएको छलफलमा कार्यदल ब्युँताउने सहमति भएको हो ।

दोस्रो तहका नेताहरुसितको संवादमा वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलले सहमतिको खाका ल्याएपछिमात्रै ओलीसँग बैठक बस्न सकिने बताएपछि कार्यदल ब्युँतिएको हो । तर अनौपचारिक संवाद भने कायमै थियो । अनौपचारिक संवाद चलिरहेका बेला औपचारिक बैठक बोलाइएको हो ।

 
 
  
 

You may also like