कलाकार शिशिर राणा बैंकिङ कसुरको मुद्दामा पक्राउ

काठमाडौं । कलाकार शिशिरशमशेर राणालाई पक्राउ परेका छन् । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा प्रहरीले उनलाई काठमाडौं विजुली बजारबाट पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो । ब्युरोका डीआईजी धिरजप्रताप सिंहका अनुसार शमशेरलाई उच्च अदालत पाटनले २०७७ साल पुस २६ गते बैंकिङ्ग कसुर मुद्दामा १० दिन कैद र ४५ लाख जरिवाना सुनाएको थियो ।

२०७६ सालमा उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान्दाजान्दै झुक्याएर नेपाल नबिल बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी ४५ लाख रुपैयाँ बराबरको चेक दिएको प्रहरीको दाबी छ ।

उनलाई फैसला कार्यान्वयनका लागि अदालत पेश गरिएको डीआईजी सिंहले बताए । राणाले वडा नम्बर ६, क्लासिक, वीरविक्रम, कायरा, रामकहानीलगायतका फिल्ममा अभिनय गरेका छन् । उनी चलचित्र निर्माता तथा निर्देशक समेत हुन् ।

 
 
  
 

You may also like