रमेश पराजुली
बुटवल । शान्ति र सद्भावको सन्देश बोकेर आउने दशैं पर्वले सम्पुर्ण हिन्दु नेपालीहरुलाई साच्चिकै शान्तिको अनुभुति दिलाउने गर्दछ । हुन पनि दशैं जस्तो महान चाडमा हामीले हरेक दुःख कष्ट बिर्सेर सुख र शान्तिको सास फेर्ने गर्दछौँ । एक अर्कासँग खुसी साटासाट गर्ने र मान्यजनबाट टिका, जमरा एबम आशीर्वाद ग्रहण गरि दशै मनाउने परम्परा परापुर्व कालदेखि नै थियो र अहिले पनि छ । दशैं हामी नेपालीहरुको सबैभन्दा ठुलो र महत्वपुर्ण चाड हो ।
आश्विन शुक्ल प्रतिपदा अर्थात घटस्थापनाको दिनदेखि नवमी अर्थात नौ दिनसम्म दुर्गा भवानीको पुजा आराधना गरि दशौँ दिन मान्यजनबाट टिका र जमरा लगाई आशिर्वाद दिने पर्ब दशैं । दशैंलाई वडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले चिनिन्छ । अन्य पर्वको तुलानामा लामो बिदा हुने चाड पनी हो दशैं । वर्ष भरि विभिन्न कारणले जहाँ रहे पनि वा गए पनि वर्षको एकपल्ट पारिवारिक तथा इष्टमित्र भेट गराइदिने चाड पनी हो दशैं । खुसी र उमङ्गको चाड । न घाम न वर्षा, न धुलो न मैलो अनि चारैतिर रमाइलो र हरियाली हुने मौसम । किनमेल अनि खानपानको चाड । दशैंको बेलामा सबै जना फुर्सदमै देखिन्छन् । लामो समयमा आफ्नो जन्मथलो फर्किएकाहरु आफ्नो गाउँको परिवर्तित वातावरणमा रमाउदै सेल्फी खिच्दै र हेर्दै दंग देखिन्छन् भने घरमा सबै सदस्य जमघट हुँदा घरको माहोलमा पनि उमंग नै देखिन्छ । बाटो मर्मत गर्ने देखि घर आँगन लिपपोत गरि गाँउघरलाई थप रमणीय बनाइएको हुन्छ ।
शरद ऋतुमा नै पर्छ उल्लासमय दसैं चाड । जीविकाको खोजीमा गाउँघरबाट टाढिएका आफन्तजनले पुनर्मिलनका लागि दसैं कुर्छन् । गाउँमा रमिता हुन्छ, कमेरो माटोले घर पोतिन्छ, केटाकेटी हर्षित हुन्छन् । सरकारी र निजी कार्यालयमा समेत लामो विदा र एक महिनाको थप तलब दसैं खर्च पाइन्छ । मेरो काम कहिले हुन्छ भनी सेवाग्राहीले सोध्दा उत्तर आउँछ– दसैंपछि । खाने, पिउने र उत्सव मनाउने समय हो दसैं । बाँकी सबै काम त्यसपछि । उसो त, दसैंको समयलाई कुनै न कुनै किसिमले मान्ने चलन दक्षिण एसियाका अन्य स्थानमा पनि छ । नेपालमा भने दसैं विशेष महत्व र पर्खाइको चाड हो।
समयक्रमसँगै दशै मनाउने प्रचलन पनि फेरीदै गएको छ । आफ्नो गच्छे अनुसार मनाउनु पर्ने महान चाड दशैलाई देखासिखीपनले कतै न कतैबाट नराम्रोसंग गाँजेको छ भन्दा फरक नपर्ला । छिमेकीले जसरी दशै मनाउछन् आफुले पनि त्यसरी नै मनाउनु पर्ने बाध्यता भनौँ वा कमजोरी हाम्रो समाजमा व्याप्त छ । यस्तो प्रवृतिले दशै जस्तो महान चाडको मौलिकतानै हराउन थालेको त हैन भन्ने कुरा पनि बेला बेला मनमा उब्जने गर्दछ । गरिबिले विहान के खाँउ बेलुका के खाँउ हुने नेपालीहरु पनी छौ हाम्रो समाजमा उनीहरुका घरमा न त दशैको रौनकता छ न त घर सिंगार्ने तामझाम नै । धनिहरुका घरमा सधैँ दशै नै दशै, राम्रो लाउन र मिठो खान उनीहरुलाई कहिले दशै कुर्नु पर्दैन तर रातदिन पसिना चुहाउने र दिनभर अरुको काम गरि साझमा हातमुख जोड्ने ती गरिब किसानहरुको झुपडिमा कसरी आउछ र खुसी ? तर पनि बर्षदिनमा एकपटक आउने दशैलाई उनिहरु आफ्नो गच्छे, आफ्नो योग्यता र क्षमताले भ्याएसम्म जस्तो छ त्यसैमा रमाएर मनाउनु पर्छ ।
भन्ने गरिन्छ दशै धनिका लागि दशै हो, गरिब का लागि त दशा । बर्ष दिनमा एक पटक आउने दशै सामान्य आाम्दानी हुनेहरुका लागि त दशा नै हुन्छ । बजार भाउ दिनप्रतिदिन बढिरहदा दुःख गरी जोहो गरेर राखेको केही रकमले दशै खर्च टार्न हम्मे हम्मे परिरहेको हुन्छ । हुनेलाई खसि नहुनेलाई फर्सि भने झैँ गरिबहरुका लागि त्यहि फर्सि किन्ने पैसा पनि नहुने अबस्था छ हाम्रो समाजमा हुने खाने बर्गहरुका लागि दशैले निकै हर्सोउल्लास ल्याएको छ तर गरिब र विपन्न बर्गका मानिसलाई भने दशैले ऋणको भार बोकाउने चिन्ताको बादलले छपक्कै छोपेको छ । गरिबका लागि त चाडवाड पनि सगरमाथा भएर आउदो रहेछ न त सजिलै पार गर्न सक्छन् न त चुपो लागेर बस्न नै । जिउमा एकसरो लुगा र एक छाक खान मिठो खान पनि दशै कुर्नु पर्ने धेरै नेपालीहरुका लागि त त्यहि एकदिन पनि मिठो मसिनो खान र एकसरो राम्रो लगाउन नपाईने हो की भन्ने चिन्ताले पिरोलेको छ । गरिबहरुका लागि दशै निकै ठुलो दर्द भएको छ तर न त सरकारले केहि गर्न सकेको छ न त आफैले । गरिबीको रेखामुनि रहेकाहरुका लागि मात्रै नभएर सामान्य व्यापारी, कर्मचारी, किसान, लगायतकाहरुलाई पनि दशै कसरी राम्ररी मनाउने भन्ने भन्दा पनि कसरी पार लगाउने भन्ने ठुलो कुरा हुन्छ । समयमै तलव नपाउनु, व्यापार राम्रो नहुनु, बाली उत्पादन राम्रो नहुनुले गर्दा पनि सामान्य मानिस चाडपर्ब आउने वित्तिकै ठुलै संकटमा पर्ने गर्दछन् ।
असत्यमाथि सत्यको विजय भएको सम्झनामा मनाउदै आएको यो पर्व आम नेपालीहरुको ठूलो पर्वका रुपमा स्थापित भएको छ । दशैं केही वर्षयता आफ्नो आर्थिक हैसियत बिर्सेर अरु घोडा चढे भनेर आफू धुरी चढ्ने प्रवृत्तिले गर्दा उल्लास र उमंगको चाड हुन सकेको छैन । जसले गर्दा दशैं दशा भएर आउने गरेको छ । तसर्थ यसलाई एउटा सांस्कृतिक महत्वको चाडका रुपमा स्वीकार गरी दशैंको गरिमा वृद्धि हुनेगरी विशुद्ध मनोरञ्जनात्मक रुपमा घाटी हेरि हाड निल्नु भन्ने उखानलाई हृदयंगम गरी मनाउन सकियोस् अनि मात्रै दशैं साच्चिकै दशैं बन्न सक्छ । अहिले खाद्य, लत्ताकपडा, मासु आदि वस्तुहरुमा छाएको महंगी त्यसमाथि मिसावटयुक्त पदार्थ उपभोग गर्न बाध्य नेपालीहरुले अभावका बावजुद पनि दशैंलाई आफ्नो हैसियत अनुसार मनाउनेतर्फ सबैले अहिले नै सोच्नुपर्दछ ।
आफन्तबाट टाढाटाढा रहेका परिवारका सदस्यहरु पनि यो पर्वमा आफ्नो जन्मस्थलो र आफन्त भेट्ने तथा मान्यजनबाट टीका र जमराका साथ आशीर्वाद लिने परम्परा रहेको यो पर्वले ऐतिहासिक महत्व बोकेको छ । तेसैले हामीहरु पनि परम्परा जोगाउन चनाखो हुनु जरुरि छ । घटस्थापनादेखि शुरु हुने यो पर्व विभिन्न शक्तिपीठहरुमा बलि दिएर देवीदेवताको प्रसादको रुपमा मासु खाने चाडको रुपमा मनाइने दशैं पर्वमा विशेषगरी नवदुर्गाको पूजा आराधना गर्ने हाम्रो प्रचलन छ । विजयादशमी भगवान रामको विजयको रुपमा मनाइने पर्व हो । दशैं पर्वले दश प्रकारका पापहरु काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहंकार, आलस्य र हिंसाको अन्त्य गर्नु पनि हो ।
शान्ती र सौहार्दपुर्ण वातावरणमा मनाउदै आफ्नो मौलिक संस्कृति र परम्परालाई जर्गेना गर्नु पर्दछ । संस्कृति जोगाउने नाममा विकृतिलाई प्रशय दिनु मुर्खता हो । दशै जस्तो पबित्र चाडमा प्रतिस्प्रर्धाको जन्म भईरहेको छ । छिमेकिका छोराछोरीले जस्तो लाउछन् उस्तै लाउनु पर्ने, जत्रो खसि काट्छन् आफुले पनि उस्तै काट्नु पर्ने परिस्थीतिको श्रृजना भईरहेको छ तर सबैमा शान्तीको सन्देश फैलाउदै सम्पुर्ण नेपालीले दशै मनाउनु पर्दछ । देखासिकी, नचाहिने भड्काउ, समाजमा अशान्ती फैलिने कार्य गरी दशै मनाउनु पक्कै पानी राम्रो होइन । दशैमा सम्पुर्ण नेपालीहरु सुखी, खुसी रहनु पर्दछ घाटी हेरेर हाड निल्ने गरेमा अबस्य पनि सबैको दशै राम्रो हुनेछ, अन्यथा महान चाड दशैँ दशा बन्न सक्छ । त्यसैले बर्षमा एकपटक आउने दशैलाई दशाको रुपमा होईन उल्लासमय वातावरणमा मनाउनु पर्दछ कोही नेपालीले पनि “आयो दशैँ ढोल बजाई गयौँ दशैँ ऋण बोकाई” भन्ने उखानको सामना गर्नु नपरोस ।
दसैंसित ऋण सधैं जोडियो तर त्यसले दसैंलाई कम सुन्दर कहिल्यै बनाएन । गरिबका लागि दशैं दशा हो भनेर कहिल्यै नसोचौ दशैंलाई दशा बनाउने तपाईं हामीले गर्दा नै हो तपाईं हाम्रो सोच मा परिवर्तन गर्नु जरुरी छ । आफन्त दाजुभाइहरु संग भेट हुने, सुख दु:ख साटासाट गर्ने पर्व लाई हामी फजुल खर्चमा सिमित गर्दैछौ । नयाँ कपडा किन्न सकिँदैन भने पुरानै कपडा धोएर नयाँ बनाउन त सकिन्छ नि, दशैंमा मासु नै खानु पर्छ भन्ने पनि छैन मासुनै खानु पर्छ भन्ने सोच बदल्नुस सबैजना परिवारका सदस्यहरु भेट भएर बस्दै गर्दा घरमा जे पाक्छ त्यो नै मीठो हुन्छ । फलानोले यसो गर्यो ढिस्कानोले उसो गर्यो भनी अरुले गरेको जस्तै गर्न खोज्नु मुर्खता हो । आफुले जे सकिन्छ, जस्तो सकिन्छ त्यसै अनुसार मनाउने प्रयास गरौ ।
दशैमा नै नयाँ कपडा लगाउनु पर्छ भन्ने पनि छैन आफ्नो सोचमा नयाँपन दिनुस, दाजुभाइमा आत्मिएता बढाउनुस, दिदी बहिनीहरु लाई स्नेह दिनुस परिवार खुसी बनाउनुस दशै दशा होइन साच्चै दशैकै रुपमा ब्यतित हुन्छ । वर्षभरी ब्यस्त रहने हरुले दशैमा पुरै समय आफ्नो परिवारमा दिनुस परिवार त्यसै खुसी रहन्छन । हामि कसैले पनि दशै लाई भड्किलो पाराले मनाउने प्रयास नगरौ जस्तो छ त्यसैमा रमाउदै गाउँमा आउने सम्पुर्ण साथी संगी, इस्टमित्रहरु संग बसि रमाइला गफ गर्दै सुख दु:ख साटौ दशै आफैमा एक महान चार्ड हो तसर्थ यसलाइ मर्यादित गराउ अनि सम्पुर्ण नेपाली हरुले खुसिका साथ दशै मनाऔ। आफुलाइ गरिब सोची दशै लाई दशा आयो भन्दै चिन्तित हुने काम कसैले पनि नगरौ धनी त्यो हो जो आफ्नो परिवारका सबै सदस्यहरु संग आफ्नो खुसी बाढ्छ ।
के ऋण काढेरै भए पनि वा समाजलाई देखाउनैको लागि भए पनि चाडपर्व मनाउनै पर्छ र ? पक्कै पनि पर्दैन दशैँ हरेक वर्ष आउँछ दशैंमा खर्च पनि अलि बढी हुन्छ त्यसैले अलि पहिलेदेखी बचत गरेर राख्न सकियो भने सजिलो हुन्छ । दशैँ आफ्नो गच्छे अनुसार मनाउनु पर्छ कसैलाई देखाउनकै लागि दशैँ मनाउने होइन भन्ने मानसिकता हामीमा भयो भने दशैं दशा नभई उत्सव हुन सक्छ । खर्च गरेर तडक–भडक गरेर पर्व मनाउने र नसक्ने वर्गले पनि ऋणधन जुटाएर यस्ता सांस्कृतिक पर्वहरु मनाउदा एउटा वर्ग जहिले पनि समाजमा ऋणको भारी बोक्नुपर्ने अवस्थामा रहेको हुन्छ । अबका दिनहरुमा देखासिकी र आडम्बरयुक्त दशैं मनाउने मानसिकतालाई हामीले परिवर्तन गर्न जान्नुपर्दछ । अब पनि यस्ता खर्चिला पर्वहरुलाई परिवर्तन गर्न सकिएन भने समाजमा रहने विपन्न वर्गका मानिसहरुको अवस्था झनै दयनीय हुन जान्छ ।
दशैंलाई एउटा परम्पराको रुपमा मान्ने, आफ्नो गच्छे अनुसार मनाउन प्रयास गर्ने, देखासिकी र प्रतिस्पर्धा नगर्ने, एकै दिन धेरै नखाने, सकेसम्म दैनिक ताजा खानेकुरा खाने, पैसा परेको चिज हो भन्दै बासी सडेगलेको खानेकुरा नखाने, विकृति र विसंस्कृति भित्रने गरी चाडबाड नमनाउने, आफ्नो स्वास्थ्यको ख्याल गर्ने, स्थानीय रुपमा उपलब्ध सामग्री प्रयोग गरि पर्व मनाउने, तडकभडक नगर्ने, धुम्रपान तथा मदिरा रहित जमघट बनाउने, घर परिवारसंगै बसेर चाडपर्ब मनाउने, सरकारले महंगी र कालोबजारी रोक्ने, सार्वजनिक यातायात व्यवस्थित गर्ने जस्ता कार्यहरु व्यवहारमा उतार्न सके सबै नेपालीको महान चाड बडादशैँ दशा नभई पक्कै पनि खुसी र उमंगको चाड हुनेछ ।
फजुल खर्च गर्न भन्दा दशैको अवसर पारेर कुनै सामाजिक काम पनि गर्न सकिन्छ तपाँइले गरेको सानो प्रयास भाविपुस्ताहरुको लागि मार्गनिर्देशन हुनेछ । तपाईहरु सबैको दशैँ खुसी र उमंगसहित हर्षोल्लासका साथ बितोस कसैको दशैँ दशा नबनोस एक दिनको मोजमस्ती र रमाइलोले गर्दा जिन्दगीभर पछुताउन नपरोस् । बस् सबैको दशैं शुभ होस । २०७६ सालको विजया दशमीले सबैलाई तडकभडक र खर्चिलो नबनाई आफ्नो संस्कृतिलाई बचाउदै दशैं पर्व मनाउन सिकाओस् सम्पुर्ण नेपाली र सम्पुर्ण हिन्दुहरुमा वडा दशैँको हार्दिक मंगलमय शुभकामना । [email protected]