काठमाडौं उपत्यकामा अझै ७–१० दिन निषेधाज्ञा थप्ने तयारी, गाडी चलाउने–नचलाउने ‘अन्योल’

काठमाडौं। काठमाडौं उपत्यकामा फेरि एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी भएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा थप्ने तयारीसहित छलफलमा रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उपत्यकाभित्र निषेधाज्ञालाई नै निरन्तरता दिइनेछ । ‘उपत्यकाको संक्रमणदर हेरेर निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै आएका छौं । एकै पटक निषेधाज्ञा हटाइयो भने फेरि महामारी नियन्त्रण बाहिर जाला कि भन्ने चिन्ता छ’, प्रजिअ पराजुलीले भने, ‘त्यसैले पनि निषेधाज्ञा हटाई हाल्न मिल्दैन । चरणबद्ध रुपमा निषेधाज्ञा खुकुलो बनाउदै लैजाने हो । पछिल्लो समय निषेधाज्ञामा कडाइ गर्नेभन्दा पनि संक्रमणदर पुनः नफैलिने गरी व्यवस्थापन गर्नतिर लागेका छौँ ।’

अब थप गरिने निषेधाज्ञालाई कसरी व्यवस्थित गरिने भन्नेतर्फ प्रशासनको ध्यान केन्द्रित भएको उनले बताएका छन् । ‘अहिले पछिल्लो साताको संक्रमणदरको समीक्षा भइरहेको छ । संक्रमणदरको निष्कर्षमा पुगिसकेका छैनौं । अहिले नै यति दिन निषेधाज्ञा थप हुन्छ भनेर भन्न सकिने अवस्था छैन । सम्बन्धित सरोकारवालाहरुसँग निरन्तर छलफलमा छौं’, उनले भने ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले असार ७ गतेपछि जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने निर्णय गरिसकेको छ । प्रजिअ पराजुलीका अनुसार अब समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिने कि भन्नेबारे छलफल भइरहेको छ ।

अहिले खाद्यान्न पसल, डिपार्टमेन्टल स्टोर, पुस्तक, ग्यास पसल, तरकारी पसलहरुलाई प्राथमिकतामा राखेर बिहान ११ बजेसम्म खोल्न दिइएको छ । अब भने अरु क्षेत्रमा पनि निषेधाज्ञा खुकुलो बनाउने तयारी छ ।

यसबारे भोलि (आइतबार) छलफल गरिने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । प्रजिअ निरौलाले अब केही क्षेत्रमा खुकुलो गरी एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने कुरा भइरहेको बताएका छन् । सीसीएमसीको गएको बुधबारको बैठकले निजी तथा सार्वजनिक सवारी–साधन पनि चल्न दिने गरी स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो । यस विषयमा पनि छलफल भइरहेको प्रशासनका अधिकारीहरुको भनाइ छ ।

‘सवारी–साधनको पछिल्लो नम्बरप्लेटको आधारमा चल्न दिने कि भन्ने छ । यसरी पछिल्लो नम्बर प्लेटका आधारमा सवारी–साधन चलाउँदा जोर–बिजोर लागु गरेभन्दा सडकमा सवारी चाप कम हुन्छ । सवारी–साधनको हकमा कस्तो मोडालिटी लागु गर्ने भन्नेबारे टुंगोमा पुगेका छैनौँ । यसबारे पनि भोलि नै निर्णय हुनेछ । पछिल्लो समय जारी गरेको निषेधाज्ञा सकिन अझै दुई दिन बाँकी छ’, काठमाडौंका प्रजिअ पराजुलीले भने ।

काठमाडौं उपत्यकामा पछिल्लो पटक जारी निषेधाज्ञा ७ गते राति १२ बजे सकिँदै छ । आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने छ ।

 
 
  
 

You may also like