काठमाडौं, काठमाडौं महानगरपालिकाले राहत तथा उद्धारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नगरसभाको नवौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेका हुन् ।
मेलम्ची नदीमा आएको बाढीले गरेको क्षतिपछिको राहत तथा उद्धारका लागि सो रकम सहयोग गरिने प्रमुख शाक्यले जानकारी दिए । मेलम्ची काठमाडौं महानगरसँग भगिनीसम्बन्ध स्थापित नगर हो । यो रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि खर्च गर्नका लागि दिइने मेयर शाक्यले बताएका छन् । हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको उनले बताएका छन् ।
मंगलबार राति पहिरोले थुनिएको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका धेरै ३र डुवानमा परेको छ र सयौं मानिस घरबारविहीन भएका छन् । बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनामा पनि क्षति पुर्याएको छ ।
यसअघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत महानगरपालिकाले मेलम्ची नगरपालिका– १० मेलम्चीबजार नजिक इन्द्रावती नदी किनारमा मेलम्ची सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो