भक्तपुरमा तीन जना चढेको मोटरसाइकल दुर्घटना, चालकको गयो ज्यान

भक्तपुर, भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । तीन जना चढेको बा ७७ प ५६०५ नम्बरको मोटरसाइकल बुधबार राति भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ चार दोबाटोमा दुर्घटना भएको हो ।

काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबीचमा रहेको आइल्याण्डमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलका चालक सोलुखुम्बुको चौलाखर्क घर भएका रमेशकुमार बस्नेतको मृत्यु भएको भक्तपुरका डीएसपी रमेश गिरीले जानकारी दिए । दुर्घटनामा परी गम्भीर घाइते भएका बस्नेतलाई नागरिक अस्पताल (गठ्ठाघर) पछि थप उपचारका लागि राति नै त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) पठाइएको थियो । तर उपचारका क्रममा आज (बिहीबार) बिहान उनको मृत्यु भएको डीएसपी गिरीले बताए ।

मोटरसाइकलको पछाडि बसेका उदयपुर ताप्ले गाउपालिका ५ का २२ वर्षीय लोकेन्द्र मग्राती र सिन्धुली तीनपाटन गाउँपालिका–५ का २५ वर्षीय अमित जैरु घाइते भएका छन् । उनीहरूको उपचार त्रिवि शिक्षण अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like