देउवालाई ओलीको प्रश्न : आफ्नो महाधिवेशन गर्ने, सरकारले गर्ने चुनाव चाँहि हुँदैन भन्ने ?

भक्तपुर, प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुन नसक्ने विपक्षी गठबन्धनको दाबी आधारहीन रहेको बताएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको कारण देखाउ आदेशको जवाफ दिँदै ओलीले कोरोना कोरोनाको व्यवस्थापन गरी चुनाव गरिछाड्ने दाबी गरेका छन् ।

प्रमुख प्रतिपक्ष कांग्रेसले महाधिवेशन गर्न हुने तर प्रतिनिधिसभा निर्वाचन गर्न किन नहुने भन्ने तर्क समेत ओलीले गरेका छन् । ‘रिट निवेदक श्री शेरबहादुर देउवाले यही भदौ महिनामा आफ्नो पार्टी नेपाली काङ्ग्रेसको महाधिवेशन गर्ने गरी कार्यतालिका प्रकाशित गरिसक्नु भएको छ । देशभरका नेता कार्यकर्ता सहभागी हुने महाधिवेशन हुनसक्ने तर चरणबद्ध रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निर्वाचन हुन नसक्ने दावी हचुवा र आधारहीन छ,’ उनले लेखेका छन् ।

राष्ट्रिय सभाको निर्वाचन कोरोना संक्रमणको बीचमा नै सम्पन्न गराइएकोले प्रतिनिधिसभा निर्वाचन पनि सम्पन्न गराइने जवाफ ओलीले दिएका छन् । ’कोभिड– १९ को संक्रमणको समयमै व्यवस्थापन गरी निर्वाचन सम्पन्न गरिनेछ,’ ओलीको जवाफमा भनिएको छ, ‘सरकारले संक्रमणलाई नियन्त्रणबाहिर जान नदिन, खोपको व्यवस्था गर्न सबै किसिमका प्रक्रिया र कारबाही अघि बढाइसकेको छ । सबै नागरिकलाई खोप लगाउने प्रतिबद्धता गरी आवश्यक खोप खरिद प्रक्रिया सुरु भइसकेको छ ।’

प्रतिनिधिसभा पुनःस्थापना भए पनि केही निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने पनि ओलीको जवाफ छ । ‘नेकपा (माओवादी केन्द्र) ले आफ्ना प्रतिनिधिसभा सदस्यलाई निष्कासन गरेको छ‚ ती स्थानहरूमा उपनिर्वाचन गर्नैपर्ने हुन्छ । आगामी फागुन महिनामा स्थानीय तहको निर्वाचन गर्नैपर्ने हुन्छ,’ उनको जवाफमा लेखिएको छ ।

 
 
  
 

You may also like