काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको उपचारका लागि जुटेको रकम कोभिड–१९ प्रतिकार्यमा लगाइने परिवारले जनाएको छ ।
उज्वलको उपचारका लागि उनका साथी तथा शुभेच्छुकहरूको पहलमा संसारभरबाट उठेको सहयोग रकमको पारदर्शीता प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्ने र बाँकी रहेको रकमलाई मूलतः कोभिड–१९ को प्रतिकार्यमा प्रयोग गरिने परिवारले जनाएको हो ।
उज्वलको उपचारका लागि संसारभरीबाट करिब ५० लाख रुपैयाँ सहयोग रकम उठेको थियो । थापाको उपचारकै क्रममा यही जेठ १८ गते ४४ वर्षको उमेरमा निधन भएको थियो । उज्वलको उपचारको क्रममा देश विदेशबाट साथ सहयोग दिने र उज्वलप्रति श्रद्धा तथा प्रेम व्यक्त गर्ने सबैप्रति परिवारले कृतज्ञता प्रकट गरेको छ ।
‘उज्वलका सोच विचार तथा उसले सम्पूर्ण नेपाली तथा मानव जगतको लागि देखेका सपनाहरू पूरा गर्न तपाईंहरूको साथ सहयोग रहनेछ भन्ने विश्वास राखेका छौं’ परिवारका सदस्यहरु आमा शान्ता थापा, बुबा उदयबहादुर थापा, श्रीमती एरिका अधिकारी र भाइ उदीपले आइतबार जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।