उपत्यकामा एक साता थपियो निषेधाज्ञा : के खुले, के खुलेनन् ?

काठमाडौ। काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले आज (आइतबार) यस्तो निर्णय गरेको हो ।

उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा कायम रहने भएको छ । निषेधाज्ञा थप भए पनि संक्रमण दर कम हुँदै गएकाले थप गरिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्ने छन् । अलनाइन डोम डेलिभरी सेवालाई पनि सुचारु गर्ने निर्णय भएको छ ।

शैक्षिक सत्र सुरु हुने वेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने छन् । अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजिकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।

कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजिकरण गर्ने निर्णय भएको पराजुलीले बताए । उनका अनुसार विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ ।

यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो । तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयले प्रवेश पाएन । उपत्यकामा १६ वैशाखदेखि लगाइएको निषेधाज्ञा हालसम्म जारी छ ।

 
 
  
 

You may also like