काठमाडौ । यो वर्षको मनसुन भित्रिएसँगै मुलुकका धेरै ठाउँमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडी आसपास विकसित न्यून चापीय क्षेत्रका कारण शुक्रबार नेपालको पूर्वी भूभागमा मनसुन आगमन भएको हो ।
‘यस पटकको मनसुन भित्रिएको छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले भने, ‘यो वेला बागमतीदेखि कर्णालीसम्मको पहाडी क्षेत्र र प्रदेश १ को केही भूभाग ठूलो पानी पर्ने देखिन्छ ।’ गत वर्ष मनसुन फैलिएको एक सातापछि देशभर वर्षा भएकोमा यसपटक सुरुवातमै पानी पर्न थालेको हो । आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानमा पानी पर्ने आंकलन गरिएको छ ।
यस वर्ष प्रदेश २ को पूर्वी र प्रदेश १ तराई क्षेत्रबाहेक मुलुकका धेरैजसो स्थानमा मौसम प्रतिकूल रहने पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा वर्षभरि हुने वर्षाको ८० प्रतिशत पानी मनसुनमै पर्ने भएकाले पनि यो समयमा बाढीपहिरोका घटना धेरै हुने गरेका छन् ।
पछिल्ला वर्षहरूमा ठुल्ठूला पहिरो जानुका साथै ज्यान गुमाउनेको संख्या बढ्न थालेपछि भारतसहितका मुलुक र अन्तरसरकारी निकायसँग सहकार्य गरेर पहिरोको पूर्वानुमानको प्रारम्भ गरिएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सर्जुकुमार वैद्यले बताए । ‘वर्षाको प्याटन फेरिएको छ, वर्षामा विचलन आउँदा कतै भारी त कतै खडेरीको समस्या छ,’ उनले भने, ‘जसले गर्दा बाढी पहिरोका घटना बढेका छन् ।’
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनी अवधिमा १८ लाख जनसंख्या बाढीपहिरोको उच्च जोखिममा रहेको आंकलन गरिसकेको छ । जसमा बाढीबाट १७ लाख र पहिरोबाट एक लाख १७ हजार जनसंख्या प्रभावित हुने देखिएको छ ।
गत वर्ष पहिरोमा परी दुई सय ९६ जनाको मृत्यु भएको थियो भने बाढीमा ४३ जनाको ज्यान गएको थियो । यो वर्ष बाढीपहिरोका घटना अझ बढ्ने आकलन मौसमविद्ले गरेका छन् ।
विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारूपको आंकलन, जल तथा मौसम विज्ञान विभागको मनसुनी वर्षा आकलन गर्ने प्रारूप र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनका आधारमा यसअघि नै मनसुनी प्रक्षेपण गरिएको थियो । जसअनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांश स्थान तथा प्रदेश नम्बर १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भूभागमा धेरै पानी पर्नेछ ।
गत वर्ष गण्डकी प्रदेशमा केन्द्रित वर्षा हुँदा सुदूरपश्चिम र कर्णालीमा कम वर्षा भएको थियो । त्यसभन्दा अघिल्लो वर्ष प्रदेश १, २ र बागमतीको अधिकांश भूभागसहित प्रदेश ५ को पश्चिमी भूभागमा औसतभन्दा कम वर्षा भएको थियो । ‘तर, कतै अनावृष्टि र अतिवृष्टि समस्या पनि बढ्दै गएका छन्,’ महानिर्देशक वैद्यले भने, ‘धान रोपाइँका वेला पानी नपर्ने, तर पछि गएर अत्यधिक वर्षा हुँदा बाढीपहिरोका घटना हुने गरेको पनि पाइन्छ ।’
बाफ बोकेको जलवाष्पयुक्त हावा पूर्वबाट प्रवेश गरेमा समयमै रोपाइँ हुने गर्छ । गत वर्ष १२ जुन अर्थात् ३० जेठमा मनसुन भित्रिएको थियो । मुलुकको कृषि प्रणाली आकाशे पानीको भरमा छ । कृषिका लागि कम्तीमा ६५ प्रतिशत पानी वर्षाबाट प्राप्त हुन्छ । आर्थिक सर्वेक्षणअनुसार कुल कृषियोग्य २६ लाख ४१ हजार हेक्टर जमिनमध्ये ८० प्रतिशतमा धान खेती हुने गर्छ । तर, १४ लाख ७५ हजार हेक्टरमा मात्र सिँचाइ उपलब्ध छ ।
लम्बिँदै मनसुन, धकेलिँदै हिउँद
सन् १९६८ यताको तथ्यांक हेर्दा मनसुन लम्बिने र हिउँद पछाडि धकेलिन थालेको छ । वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार मनसुन कस्तो हुन्छ भनेर महासागरमा विकसित हुने घटनाक्रम, त्यहाँको तापक्रममा भर पर्छ । त्यसबाहेक हिउँदसहित ऋतुगत वर्षा, तापक्रम र हिमपातले पनि असर गर्छ ।
उदाहरणका लागि बर्खामा कास्की क्षेत्रमा धेरै वर्षा हुने गर्छ भने मनाङ, मुस्ताङमा निकै कम पानी पर्छ । ‘सन् १९६८ देखिको तथ्यांक हेर्दा मनसुन लम्बिने र हिउँद पछाडि धकेलिन थालेको छ,’ उनले भनिन् ।
विगतमा १० जुनमा मनसुन भित्रिने र २३ सेप्टेम्बरमा अन्त्य हुने आकलन जल तथा मौसम विज्ञान विभागले गर्ने गरेको थियो । तर, यसपटक पछिल्ला १० वर्षमा मनसुन आगमन र अन्त्यको तथ्यांक तथा ३० वर्षको मनसुनी वर्षाको विश्लेषण गरेर नयाँ प्रक्षेपण गरिएको छ । मौसमविद् प्रधानांगका अनुसार अब औसतमा १३ जुनमा भित्रिने र २ अक्टुबरमा अन्त्य हुने आंकलन गरिएको थियो ।
०७६ मा औसतभन्दा १० दिन ढिलो ५ असारमा मात्र मनसुन भित्रिएको थियो भने १९ दिन ढिलो गरी २५ असोजमा बहिर्गमन भएको थियो । गत वर्ष भने औसतभन्दा दुई दिन ढिला मात्र मनसुन सुरु भएको थियो ।
नेपालमा सबैभन्दा छोटो अवधिको मनसुन ०३६ मा ७३ दिन मात्र कायम भएको थियो । ०६५ मा भने सबैभन्दा लामो मनसुन कायम भएको थियो, एक सय ३० दिन । नयाँ पत्रिका दैनिकबाट