कुल ‘देउता’ को विवादमा भाइको हत्या

महोत्तरी । महोत्तरीमा घरको कूल देवताको विवादमा एक व्यक्तिले आफ्नै भाइको हत्या गरेका छन् । महोत्तरीको लोहारपट्टी गाउँपालिका–७ भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहको कुटपिटबाट उनका कान्छो भाइ ४५ वर्षीय लक्ष्मण साहको ज्यान गएको स्थानीयले जानकारी दिएका छन् ।

यही जेठ २६ गते घरको देउताबारे विवाद हुँदा रामचन्द्रसहित उनको परिवारले मिलेर लक्ष्मणलाई कुटपिट गरी गम्भीर घाइते बनाएको स्थानीय शंकर साहले जानकारी दिएका छन् । जनकपुरमा कुनै अस्पतालले भर्ना लिन नमानेपछि उनलाई हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

तर उपचारका क्रममा उनको मृत्यु भएको हो । परिवारजन लक्ष्मणको शव लिएर शुक्रबार राति घर फर्केका छन् । कुटपिट गर्ने रामचन्द्र साहसहित उनको परिवारका सबै सदस्य फरार भएका छन् ।

स्थानीयले दोषीलाई कारबाही गरिनुपर्ने माग गरेका छन् । यसैबीच भ्रमरपुराको प्रहरी चौकीबाट प्रहरी टोलीले साहको घरमा पुगेर अनुसन्धान थालेको छ । कुटपिटबाट मृत्युु भएका लक्ष्मणको काठमाडौंमै पोस्टमार्टम भएको र कुटपिटमा संलग्नहरूको खोजी भइरहेको महोत्तरीका प्रहरी प्रमुख दिनेश आचार्यले जानकारी दिएका छन् ।

 
 
  
 

You may also like