ज्वाला बलिरहने नाभिस्थान मन्दिर पुनर्निर्माण हुँदै

दैलेख । दैलेखको प्रसिद्ध तीर्थस्थल मानिएको दुईवटा ज्वाला निरन्तर बलिरहने पञ्चकोशीधाममध्येको एक शक्तिपीठ नाभिस्थान मन्दिरको पुनर्निर्माण थालिएको छ । पुरातत्व विभागबाट रु ४० लाख विनियोजन भएपछि मन्दिर पुनर्निर्माण हुन लागेको हो ।

निषेधाज्ञाका समयमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै निर्माण कम्पनीले मन्दिर निर्माण थालनी गरेको छ । मन्दिर निर्माणको जिम्मा पुष्प निर्माण कम्पनीले पाएको छ । लामो समयसम्म पुनर्निर्माण हुन नसक्दा धार्मिक र ऐतिहासिक महत्वको मन्दिर जीर्ण हुँदै भत्किने अवस्थामा पुगेका बेला पुनः बनाउन लागेको देख्दा निकै खुशी लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवीन योगीले जानकारी दिए । मन्दिर पुरानै शैलीमा निर्माण गरिने निर्माण कम्पनीका ठेकेदार मथुराप्रसाद जैसीले जानकारी दिए ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै आगामी असार मसान्तसम्म मन्दिर निर्माण सम्पन्न गरिने पनि उनले बताए । डीपीआर मन्दिर व्यवस्थापन समितिले गरेको र सोहीअनुसार निर्माण कम्पनीले निर्माण गर्ने व्यवस्थापन समितिका अध्यक्ष नवीन योगीले जानकारी दिए । उनका अनुसार पुरानै शैलीमा काठको कलात्मक ढाँचा र ढु्रगामाटो प्रयोग गरी छाना पुरानै झिङ्गटीले छाइनेछ । इस्टिमेटअनुसार धमाधम काम भइरहेको र सम्झौता समयावधिभित्रै निर्माण सम्पन्न गरी हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ ।

मन्दिर यहाँको प्रसिद्ध धार्मिक तीर्थस्थल पञ्चकोशीधाममध्येको एक शक्ति पीठ मानिन्छ । दैलेखको पवित्र तीर्थस्थलले परिचित पञ्चकोशीधामअन्तर्गत श्रीस्थान, नाभिस्थान, पादुका, धुलेश्वर र कोटिला मन्दिरलाई सूचीकृत गरिएको छ । सो मन्दिरमा अनवरत रुपमा सदियौंदेखि दुई ज्वाला निरन्तर बलिरहेका छन् भने धार्मिक तथा आन्तरिक पर्यटनको आकर्षक गन्तव्य पनि रहेको छ । रासस

 
 
  
 

You may also like