सहकारी प्रकरण : कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै

काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन आज (मंगलबार) कार्यदलको बैठक बस्दैछ । कानून, न्याय तथा संसदीय मन्त्रालयमा बिहान ९ बजे कार्यदलको बोलाइएको नेपाली कांग्रेसका सांसद जीवन परियारले जानकारी दिएका छन् । परियारले आजका लागि बोलाइएको र आफूहरु सहभागी हुने जानकारी दिए ।

कांग्रेसका तर्फबाट सांसद ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुने परियारले जानकारी दिएका छन् । शनिबार सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहकारीको बचत ठगी, हिनामिना, अपचलन, दुरुपयोगबारे छानबिन गर्न संसदीय समिति बनाउने सैद्धान्तिक सहमति भएको थियो। क्षेत्राधिकारको टुंगो लगाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा नेकपा (एमाले) प्रमुख सचेतक महेश बर्तौला र कांग्रेस सांसद जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेको कार्यदलसमेत बनेको थियो ।

कार्यदलले आइतबार दुई चरणमा छलफल गरे पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नामै तोकेर क्षेत्राधिकार तय गर्ने र उनी मुछिएको सहकारीको नाम अनुसूचीमा उल्लेख गर्ने भन्ने विवाद हुँदा सहमति जुट्न सकेको थिएन । आइतबार कार्यादेशमा सहमति नजुटेकै कारण सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने बेला पनि कांग्रेसका सांसदले नाराबाजी गरेका थिए । प्रधानमन्त्री प्रचण्डले विरोधकै बीच चौथो पटक संसदबाट विश्वासको मत (१५७) प्राप्त गरेका छन् ।

 
 
  
 

You may also like