ढुंगा, गिट्टी र बालुवा निकासी फुकुवाकाे ‘हचुवा’ निर्णय सरकारले फिर्ता लिनुपर्छ : जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले चुरे क्षेत्रमा ढुंगा, गिट्टी र बालुवाको निकासी फुकुवा गर्ने हचुवाको निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

आज (मंगलबार) सामाजिक सञ्जाल ट्वीटमार्फत जबराले कुनै ठोस योजना विना गरिएको निर्णयले चुरेभावर, तराई क्षेत्रमा प्राकृतिक सम्पदाको दोहन निश्चित भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘सरकारले खानीजन्य ढुंगा, गिट्टी, बालुवाको निकासी एक्कासी फुकुवा गरेको छ । ठोस योजना विना, हचुवाको निर्णयले चुरेभावर, तराई क्षेत्रमा प्राकृतिक सम्पदाको दोहन हुने निश्चित देखिन्छ । अत्याधिक दोहन रोक्न गरिएको निर्णय किन बदल्नप¥यो सरकार नाजवाफ छ । अविवेकी, अहितकर निर्णय फिर्ता लिइयोस्’, उनले भनेका छन् ।

सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा ‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने’ र ‘खानीजन्य निर्माण सामग्री परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोपवे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने’ उल्लेख छ । यो निर्णयले चुरेभावर सिध्याउने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

 

 
 
  
 

You may also like