ओलीको आक्रोश : आफ्ना पालामा केही नगर्ने, पेन्सन खाएर न्यायालयको हुर्मत लिने ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कानून व्यवसायी र चार पूर्व प्रधानन्यायाधीशप्रति आक्रोश व्यक्त गरेका छन् ।
आज (सोमबार) युवा संघको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले पूर्व प्रधानन्यायाधीशहरूप्रति यस्तो आक्रोश व्यक्त गर्दै सडकमा तमासा देखाएको आरोप लगाएका हुन् ।

पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीले केही दिनअघि विज्ञप्ति जारी गर्दै संसद् विघटनलाई संविधान मास्ने खेलसँग तुलना गरेका थिए ।

‘उहाँहरू त्यही चाहिरहनु भएको छ । हामीले लेखेर दिएको फैसला पढि सुनाउने न्यायाधीश बाहेकलाई हामी मान्दैनौं । यस प्रकारका कुरा छन् । न्यायालय कुन अवस्थामा पुग्दैछ । कालोकोटधारी केही व्यक्तिहरूले न्यायालयलाई कुन अवस्थामा पुर्‍याउँदै हुनुहुन्छ ? कुन हैसियतमा पुर्‍याउँदै हुनुहुन्छ ? बडो गम्भीर विषय छ । पूर्व न्यायमूर्ति, उहाँहरूले न्यायलयको कसरी हुर्मत लिँदै हुनुहुन्छ, पेन्सन खाएर । आफ्नो समयमा केही नगर्ने ! अनि वर्तमान न्यायालयका काम कारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा ? यसले हाम्रो लोकतन्त्रलाई कहाँ पुर्‍याउँछ ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो ।

उनले यस प्रकारका ‘आउटडेटेड एलिमेन्ट’ हरूबाट देशलाई दुष्प्रभावित हुन नदिइने बताउँदै जोगाइने पनि दावी गरे । उनले अरू पनि यस्ता तत्व देखिएको बताए । ‘कसैलाई पूर्ण बजेट ल्याउनु हुँदैन, कसैलाई बजेट ल्याउनु हुँदैन, कसैले विकास बजेट ल्याउनु हुँदैन, विकासका कामलाई एक वर्ष ठप्प राख्नुपर्छ, जनताहरूलाई सेवा गर्न हुँदैन । सरकार, राज्यको काम जनताको सेवा गर्ने होइन, हो भने पनि यतिबेला स्थगित राख्नुपर्छ, महामारीको यस्तो बेला छ, जनतालाई उपचार गर्नुपर्छ’, उनको भनाइ थियो ।

 

 
 
  
 

You may also like