लुम्बिनी प्रदेश सभा राष्ट्रिय उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डेय विजयी

दाङ ।लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् ।

पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मतका साथ विजयी भएको जनाइएको छ । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् ।

प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ । निर्वाचन आयोगले औपचारिक घोषणा केहीबेरमा गर्दैछ ।

कांग्रेसका उनी माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार बनेका थिए । खड्कालाई जसपाको महन्थ ठाकुर पक्षको साथ दिएको थियो । निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१४ गरी २९७ मत खसेको थियो ।

बिहान ९ बजेदेखि सुरु भएको थियो । जम्मा तीन सय मतदातामध्ये नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल म्शेर जबराले चुनाव बहिष्कार गरेका थिए भने अन्य दुई जना मतदाता बिरामी भएर काठमाडौँमा रहेकाले मतदान गर्न गएका थिएनन् ।

कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गरिएको हो ।

नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्काले एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए । त्यसपछि रिक्त पदमा नेकपा एमालेबाट खड्का नै उम्मेदवार बनेका थिए ।

 
 
  
 

You may also like