पाँच मन्त्री एकैपटक विदेश भ्रमणमा, को कहाँ के गर्दैछन् ?

by समतल अनलाइन

ओली सरकारका पाँच मन्त्री एकैपटक विदेश भ्रमणमा छन्। संविधान जारीपछि राजनीति स्थायित्व कायम भएसँगै जनताको आधारभूत आवश्यकता सरकारद्वारा पूरा हुने विश्वास लिएका जनताहरुको चाडबाडको मुखमा महङ्गीको मार परेका छन् । तर, मन्त्रीहरु भने विदेश भ्रमण एकैपटक निस्किएका हुन् ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई र वनमन्त्री शक्तिबहादुर बस्नेत अहिले विदेश भ्रमणमा रहेका छन् । डेंगुको महामारीले देश आक्रान्त भएका बेला उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका हुन् ।

डेंगुका कारण ६ जनाले ज्यान गुमाइसक्दा र १० हजारभन्दा बढी मानिस डेंगु संक्रमित हुँदा भयावह अवस्था नरहेको भन्दै स्वास्थ्यमन्त्री यादव अमेरिका पुगेका हुन् ।

संयुक्त राष्ट्रसंघीय महासभामा स्वास्थ्यको सर्वव्यापी पहुँच सम्बन्धी उच्चस्तरीय बैठकमा सहभागी हुन मन्त्री यादव न्यूयोर्क पुगेका हुन् । यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका हुन् । यसैक्रममा उनले त्यहाँ उच्चस्तरीय भेटवार्ता र बैठकहरुमा सहभागी भइरहेका छन् । यही असोज अन्तिम साता चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने भनिएका बेला उनी अमेरिका पुगेका हुन् ।

संस्कृति, पर्यटनक तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि क्यानाडा भ्रमणमा रहेका छन् । क्यानाडामा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओ को ४० औं महासभामा सहभागी हुने मन्त्री भट्टराई त्यहाँ पुगेका हुन् । सेप्टेम्बर २४ देखि अक्टोबर ४ सम्म चल्ने महासभामा १९३ देशका प्रतिनिधिहरु र विभिन्न संघ संस्थाहरुका एक हजार भन्दा बढीको सहभागिता रहेको छ ।

यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन जापान भ्रमणमा रहेका छन् । जापानी विकास नियोग जाइका को निमन्त्रणामा मन्त्री पुन जापान पुगेका हुन् । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत संयुक्त राष्ट्रसङ्घको आयोजनामा हुने जलवायु कार्यशिखर सम्मेलनमा सहभागी हुन भन्दै अमेरिका पुगेका छन् ।
यसरी एकैपटक पाँच जना मन्त्री विदेश भ्रमण रहेका हुन्। अनावश्यक विदेश भ्रमणलाई रोक्ने बारम्बार प्रधानमन्त्री ओलीले दिने गरेको अभिव्यक्तिविपरीत उनीहरु एकैपटक विदेश भ्रमणमा रहेका हुन् ।

 
 
  
 

You may also like