ओली कम्युनिस्ट आन्दोलनका गद्दार हुन्, कारबाहीको अर्थ छैन : झलनाथ खनाल

काठमाडौ। नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी ओली ‘कम्युनिस्ट आन्दोलनको गद्दार’ भएको आरोप लगाएका छन् । ओलीले नेता पूर्वप्रधानमन्त्री तथा पार्टी प्रमुखद्धय खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेपछि खनालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

वरिष्ठ नेता खनालले ओली कम्युनिस्ट आन्दोलनका गद्दार भएको र कारबाहीको अर्थ नरहेको बताए । ओली कम्युनिस्ट आचरणको पार्टी सिध्याउने खेलमा ओली लागेको उनको भनाइ छ । उनले भने, ‘केपी ओली कम्युनिस्ट आन्दोलनका गद्दार हुन् । उनले गर्ने निर्णयले हाम्रो रौँ हल्लिदैन । यो कारबाहीको अर्थ छैन ।’

प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीको आइतबार बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो । बैठकले खनाल र नेपाल सहित भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरूलाई साधारण सदस्य नरहनेगरी निष्कासन गरेको हो।

शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै खनाल–नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, कसैले पनि स्पष्टीकरणको जवाफ नबुझाएपछि एमालेले उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।

 
 
  
 

You may also like