जनार्दन शर्माको प्रस्ताव : विपक्षी गठबन्धनको बैठक बसेर नयाँ प्रधानमन्त्री चयन गरौं

काठमाडौं । विपक्षी गठबन्धनका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले विपक्षी गठबन्धनको वैठक बसेर नयाँ प्रधानमन्त्री चुन्नु पर्ने प्रस्ताव अगाडि सारेका छन् ।

संसद विघटनको प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै विपक्षी गठबन्धनका नेताहरुले कानुनी र राजनीतिक लडाइ लड्ने निर्णय गरेको अवस्थामा नेकपा माओवादी केन्द्रका नेता समेत रहेका विपक्षी गठबन्धनका सदस्य प्रभाकरले यस्तो प्रस्ताव अघि सारेका हुन् ।
‘सभामुखले बैठक बोलाउने । त्यही बैठकबाट नयाँ प्रधानमन्त्री चुन्ने र सरकार चलाउने मेरो प्रस्ताव छ,’ उनले भने, ‘संविधान मिच्ने राष्ट्रपति र प्रधानमन्त्रीलाई जस्ताको तस्तै जवाफ दिन यही उपयुक्त हुन्छ ।’

यो प्रस्ताव आफूले दलका शीर्ष नेताहरु समक्ष राखिसकेको पनि उनले बताएका छन् । ‘राजनीतिक रुपमा जवाफ दिने हो भने यस्तै गर्नुपर्छ भनेको छु, तर नेताहरुले मेरो कुरा सुनेका छैनन्,’ उनले भने ।

बिडारी भन्छन्, ‘यो गलत हुन्छ, थप अराजकता सिर्जना हुन्छ’
सभामुख अग्नि सापकोटाले संसद विघटनको विरोध गरेकाले विपक्षीहरुले उनको साथ पाउनेमा शंका छैन । तर यो संविधानको अनुकूल हुँदैन । संविधानमा सरकार गठनको प्रक्रिया धारा ७६ मा र संसद बैठक आह्वान र अन्त्यको व्यवस्था धारा ९३ मा स्पष्ट रुपमा लेखिएको छ ।

त्यसैले संवैधानिक कानुनका जानकार समेत रहेका राष्ट्रियसभा सदस्य रामनारायण बिडारी संविधानको व्यवस्था विपरीत जानु गलत हुने बताउँछन् । ‘राष्ट्रपतिले र प्रधानमन्त्रीले संविधान मानेनन् भन्दैमा हामीले पनि किन मान्नु प¥यो भनेर जाने हो भने देशमा थप अराजक स्थिति सिर्जना हुन्छ ।’

 
 
  
 

You may also like