विपक्षी पाँच दल १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालत जाने तयारीमा

काठमाडौं। प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणाविरुद्ध विपक्षी गठबन्धनका पाँच दल सर्वोच्च अदालत जाने तयारीमा छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको असन्तुष्ट पक्षसहितको सर्वपक्षीय बैठकले १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने निर्णय गरेको हो ।

संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, रामशरण महत, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सभागी थिए ।

शनिबार बानेश्वरमा बसेको पाँच दलको बैठकले १४९ जना सांसदसहित नेताहरु सर्वोच्च जाने निर्णय गरेको हो । बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तरिकाले षडयन्त्रपूर्वक संसद विघटन गरेकाले यसको सबै किसिमबाट प्रतिवाद गरिने जानकारी दिए ।

त्यसका लागि विपक्षी दलले आफ्ना सांसदहरुलाई नागरिकतासहित आइतबार १ बजे संसद भवनमा बोलाएका छन् । नेताहरुका अनुसार सके आइतबार नभए सोमवार सर्वोच्च अदालत जाने तयारी भएको छ । राष्ट्रपतिले संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनकातर्फबाट शेरबहादुर देउवाले प्रस्तुत गरेको दाबी विधिसम्मत नभएको भन्दै खारेज गरेकी थिइन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

 
 
  
 

You may also like