‘डमरुको डण्डीबियो’ सिनेमा घर एपमा निशुल्क हेर्न पाइने

काठमाडौं। खगेन्द्र लामिछाने, मेनुका प्रधान लगायतका कलाकारहरुको अभिनय रहेको स्व. छेतेन गुरुङ्ग निर्देशित नेपाली चलचित्र ‘डमरुको डण्डीबियो’ अब नि:शुल्क हेर्न पाइने भएको छ । कोभिड-१९ को दोश्रो लहरसँगै भएको लकडाउनको समयमा नेपालमा बस्ने दर्शकको लागि सिनेमाघर एपमा यो चलचित्र निशुल्क उपलब्ध गराईएको हो ।

चलचित्रका अभिनेता तथा सिनेमाघर एपका खगेन्द्र लामिछानेले लकडाउनको समय मनोरञ्जनपूर्ण र यादगार बनोस् भनेर ‘सिनेमाघर एप’ को तर्फबाट नेपालमा बस्ने दर्शकहरुको लागि भनेर ‘डमरुको डण्डीबियो’ नि:शुल्क हेर्न मिल्ने व्यवस्था मिलाएको बताए । ‘विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसले पछिल्ला दिनमा नेपालीलाई झनै धेरै त्रसित बनाएको छ । हाम्रो लागि यो समय निकै नै कठीन र चुनौतीपूर्ण छ । घरमा बस्दा समय कटाउन गाह्रो हुन्छ । त्यो समय मनोरञ्जनपूर्ण र यादगार बनोस् भनेर यो चलचित्र नि:शुल्क हेर्न मिल्ने व्यवस्था मिलाएका छौँ’, लामिछानेले बताए ।

अहिले यो सुविधा नेपालमा मात्र रहेको र बिस्तारै अरु देशहरुमा पनि क्रमशः उपलब्ध हुदैजाने सिनेमाघर एपका कार्यकारी अधिकृत सागर खरेलले बताए । ‘डमरुको डन्डीबियो हाम्रो एपमा एकदमै रुचाइएको चलचित्र हो, हामीले अहिलेसम्म एस्लाई ‘पेड सर्भिस’को रुपमा राखेको थियौं । यो हाम्रो एपमा सबैभन्दा धेरै किनेर हेरिएको चलचित्र हो, तैपनि हामीले यो लकडाउनको अवस्थामा सबैलाई मनोरन्जन होस् भन्ने हेतुले नि:शुल्क गरेको छौँ’, खरेलले बताए ।चलचित्र हेर्नको लागि एप स्टोरमा गएर सिनेमाघर एप अपडेट गर्नु पर्ने हुन्छ । सिनेमाघर एप एण्ड्रोइड, आइओस, अमेजन फायर टिभी, एण्ड्रोइड टिभी लगाएतमा उपलब्ध छ ।

 
 
  
 

You may also like