विश्वासको मत लिने कर्मकाण्ड भन्दा सिधै सरकार गठनको आह्वान उचित : प्रधानमन्त्री

काठमाडौंं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कर्मकाण्ड गर्नुभन्दा सिधै सरकार गठनको आह्वान उचित भएकैले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नयाँ सरकारको लागि आह्वानको अनुरोध गरिएको बताएका छन् ।

बालुवाटारमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त हुने आधार नरहेको कारणले गर्दा राष्ट्रपतिलाई नयाँ सरकार गठनको लागि सिफारिस गरिएको दाबी गरे । आफूले विश्वासको मत पाउने नदेखेपछि छिटै अर्को सरकार बनोस् र बजेट, नीति तथा कार्यक्रम ल्याउन सजिलो होस् भनेर धारा ७६ को उपधारा (५) अनुसार सिफारिस गरिएको प्रधानमन्त्रीको दाबी छ । उनले हिजोको आह्वान बाहिर आएपछि बहुतै कृत्रिम नाटकीय व्याख्या भएको जिकिर पनि गरे ।

‘जेठ ५ गते संविधानले तोकेअनुसार बजेट प्रस्तुत गर्नुपर्छ । नीति तथा कार्यक्रम र बजेट पेस गर्नका लागि पनि छोटो समय दिएर सरकार गठनको आह्वान भएको हो । विश्वासको मत लिने कर्मकाण्ड पूरा गर्ने र फेरि पराजित भएर धारा ७६ को उपधारा ५ मा जाने समय थिएन । १२ वा १४ गते नयाँ सरकार बन्यो भने कसरी बजेट आउन सक्छ त भन्ने हिसाबले छोटो समय दिएर नयाँ सरकार गठनको आह्वान भएको हो’, ओलीले भने ।

‘विश्वासको मत लिने कर्मकाण्ड गरे पनि आखिर धारा ७६ को उपधारा ५ मा नै जानुपर्छ, त्यसरी प्रक्रिया लामो बनाउनुभन्दा सिधै सरकार गठनको आह्वान गर्न राष्ट्रपति ज्यू समक्ष आग्रह गरेका हौं’, प्रधानमन्त्रीको भनाइ छ ।

जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने बाध्यता रहेको तर्फ पनि उनले औंल्याए । ‘मानौं जेठ १४ गते सरकार बन्यो भने बजेट कसरी पेश गर्छ ?,’ उनले भने, ‘आफ्ना नीति कार्यक्रम कसरी तर्जुमा गर्ला ?’ नयाँ सरकार गठनका लागि धेरै समय नरहेको उनले बताए । ‘त्यसैले हामीले समय लिएर विश्वासको मत लिने कर्मकाण्ड पूरा गरेर, विश्वासको मतबाट फेरि पराजित भएर उपधारा ५ मा गइरहने समयको सुविधा हामीसँग छैन,’ उनले भने ।

धारा ७६ को उपधारा ५ मा जाने भइसकेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गरिदिनु र सरकार गठनको बाटो खोलिदिनु समयको चापका हिसाबले उचित मात्र होइन अत्यावश्यक रहेको उनको भनाइ छ । आफ्नो यो कदम छलेर सरकार जोगाउन वा छलेर सरकार कब्जा गर्न केन्द्रित नरहेको उनले प्रष्ट पारे ।

 
 
  
 

You may also like