राष्ट्रपतिको प्रतिरक्षा गर्दै प्रधानमन्त्रीले भने, ‘किन लिइँदैछ हुर्मत, यो गणतन्त्रविरुद्ध हो’

काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथिको विरोध सङ्घीय गणतन्त्रमाथिको आक्रमण भएको बताएका छन् ।
बालुवाटार शुक्रवार (आज) भएको पत्रकार सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिरक्षा गर्दै प्रधानमन्त्री ओलीले संविधानले नै राष्ट्रपतिको काम, कर्तव्य र अधिकारमा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीले गरेको सिफारिस कार्यान्वयन गर्ने भएकोले त्यहीअनुसार काम भइरहेकोमा उनीमाथि किन विरोध भए रहेको भनेर प्रश्न गरे ।

राष्ट्रपतिमाथि महाभियोगको चर्चामाथि टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले बरु आफूलाई महाभियोग लगाउन वा हटाउन चुनौती दिए । राष्ट्रपतिमाथि विभिन्न लान्छना लगाइरहेको भन्दै उनले आफ्नो दल निकटको नभएको वा अरू कुण्ठाका कारण राष्ट्रपतिमाथि टिप्पणी भइरहेको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई २१ घण्टाको समय दिएर संविधान मिचेको भन्दै चौतर्फी विरोध भएको हो । प्रधानमन्त्रीले राजीनामा दिएमा वा अविश्वासको मतबाट पदमुक्त भएमा नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने संवैधानिक व्यवस्था रहे पनि प्रक्रिया नै मिचेर राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेको भन्दै विभिन्न राजनीतिक दल, संविधान र कानुनविद्, बुद्धिजीवी लगायतले विरोध गरेका हुन् । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री र राष्ट्रपतिको कदम संविधानको विपरीत भएको बताइसकेका छन् ।

 
 
  
 

You may also like