राष्ट्रपतिद्वारा धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न आह्वान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न आह्रवान गरेकी छिन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम बनेको सरकारले विश्वासको मत पाउने आधार नदेखिएको भन्दै उपधारा ५ अन्तर्गतको सरकार गठनका लागि जेठ ७ गते ५ बजेसम्मको समय दिएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत प्राप्त हुने राजनीतिक आधार नदेखेकाले मार्ग प्रसस्त गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न अनुरोध गरेकोले उपधारा ५ अन्तर्गतको सरकार गठनका लागि आह्वान गरेको उल्लेख गरेकी छन्।

वैशाख २७ गते संसदमा भएको मतदानमा ओलीले विश्वास गुमाएका थिए। तर कसैले बहुमतको सरकार दाबी नगरेपछि वैशाख ३० गते संसदमा रहेको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्री नियुक्त भएका थिए। उनले जेठभित्र संसदबाट विश्वासको मत लिनुपर्ने थियो।

बिहिबारकाे मन्त्रीपरिषद्को बैठकमा विश्वासको मत नलिने र धारा ७६ (५) अनुसार सरकार बनाउन दिनेबारे आफूले सोचीरहेको ओलीले बताएका थिए । भनेका थिए, ‘आजको फैसलाले मेरो ‘मुड अफ’ भएको छ। अब संसदमा विश्वासको मत लिएर काम छैन जस्तो लागेको छ। यसअघि पनि विश्वासको मत आएको थिएन अब नआउने विश्वासको मतका लागि किन प्रयास गर्ने ? धारा ७६ को उपधारा ५ अन्तर्गतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गर्नुपर्ला ।’

 
 
  
 

You may also like