युएस–बंगला दुर्घटनाः मृतक ७ जनाका परिवारद्वारा मुद्दा दायर, २ अर्ब १० करोड क्षतिपूर्ति माग

काठमाडौं साउन १५, । सन् २०१८ मार्च १२ तारिखमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एयरलाइन्स लिमिटेडको विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुहरुको आफन्तले क्षतिपूर्ति दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

दुर्घटनामा ज्यान गुमाएका एन्जिला श्रेष्ठ, आसना शाक्य, मिली महर्जन, निगा महर्जन, प्रिन्सी धामी, सञ्जय महर्जन र श्रेया झाका आमाबुबाले लामो समयसम्म पनि कानुनी रूपमा पाउनु पर्ने क्षतिपूर्ति रकम नपाएपछि मुद्दा दायर गरेका हुन् ।

मृत्यु भएका सात जना यात्रुका आफन्तले २ अर्ब १० करोड रुपैंया (१९ मिलियन ९) हजार अमेरिकी डलर) भन्दा बढी क्षतिपूर्ति रकम दाबी गरी बुधबार मुद्दा दायर गरेको अधिवक्ता अमृत खरेलले जानकारी दिए ।

उनका अनुसार वायुयान धनीरसञ्चालक को दायित्वसम्बन्धी अन्तर्राष्ट्रिय कानुनबमोजिम क्षतिपूर्ति प्राप्तिका लागि नेपाल पक्ष रहेको मन्ट्रियल कन्भेन्सन १९९९, वार्सा कन्भेन्सन १९२९ र हेग प्रोटोकल १९५५ बमोजिम गल्तिबस मृत्युबापत् निर्धारित क्षतिपुर्ति रकम एकमुष्ट दिलाउने र भराउनेसम्बन्धी मुद्दा पीडितहरुको तर्फबाट काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको हो ।

दुर्घटनाको १६ महिना बितिसकेको छ । युएस बंगला एयरलाइन्स ढाकाबाट काठमाडौं आउने क्रममा दुर्घटनामा परेको थियो । त्यसमा सवार ७१ यात्रुमध्ये ५१ जनाको मृत्यु भएको थियो ।

जहाजमा ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभियन यात्रु थिए भने बाँकी बंगाली क्रु मेम्बर रहेका थिए ।

नेपाल सरकारका तर्फबाट गठित जाँचबुझ आयोगको प्रतिवेदनमा चालक दलका सदस्यको असावधानीका कारण दुर्घटना भएको भनिएको थियो भने कम्पनीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ट्राफिक कन्ट्रोलका कारण दुर्घटना भएको उल्लेख गरेको थियो ।

प्रतिवेदनमा वायुयान धनी र सञ्चालक युएस–बंगला एयरलाइन्स लिमिटेड र सो कम्पनीबाट उक्त विमान हवाई उडानका लागि खटिएका कम्पनीको प्रतिनिधिरसेवकको रुपमा कार्यरत प्रमुख चालकको गम्भीर हेलचक्रयाइँ, असावधानी, गल्ती र चरम लापरबाहीका कारण बताएको र सोही आधारमा पीडितहरुले क्षतिपूर्ति रकमको विशेषज्ञ मूल्यांकन गराई दाबी गरेका हुन् ।

पीडित परिवारलाई भएको आर्थिक र गैरआर्थिक क्षतिको वर्गीकरण गरी दायित्व निर्धारण गरी दाबी गर्ने अन्तर्राष्ट्रिय परिपाटी अनुरूप नै दाबी गरिएको अधिवक्ता खरेलले जानकारी दिए ।

 
 
  
 

You may also like