भारतमा ‘ताउ–ते’ चक्रवातले १८ को मृत्यु : नेपालमा भारी वर्षाको सम्भावना

काठमाडाैं। शक्तिशाली ‘ताउ–ते’ चक्रवातका कारण आएको आँधीहुरी र भारी वर्षाका कारण भारतमा हालसम्म १८ जनाको ज्यान गएको छ । अरब सागरमा विकसित ताउ–ते नामको अति शक्तिशाली चक्रवात सोमबार राति ८ बजे गुजरातमा बज्रिन आइपुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जसका कारण भारतका कर्नाटक, गोवा, केरल र महाराष्ट्र राज्यमा गरी १८ जनाको ज्यान गएको छ भने गुजरातबाट डेढ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चक्रवात प्रभावित भारतका मुम्बईलगायत विभिन्न स्थानमा सयौं रूख ढलेका छन् । विभिन्न शहर जलमग्न भएका छन् । अस्पतालमा उपचाररत कोरोना संक्रमितहरूको बिचल्ली भएको छ ।

‘ताउ–ते’ को प्रभाव नेपालमा पाँच दिन, हिमाल आरोहण नगर्न सुझाव
‘ताउ–ते’ चक्रवातको प्रभावका कारण अहिले नेपालको मौसम समेत प्रभावित भएको छ । चक्रवातको प्रभावका कारण नेपालमा भारी वर्षाको सम्भावना रहेको र यसको असर पाँच दिनसम्म देखिने मौसमविदले बताएका छन् ।

अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा वर्षा गराउने प्रणाली सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै भोलि बेलुकादेखि शुक्रवारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने र थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १–२ ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ । यस्तै प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । यो सिजनमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनापानीसमेतको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् मानन्धरको आग्रह छ ।

यस्तै उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा र अरु प्रदेशको एक–दुई ठाउँमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अरब सागरमा रहेको शक्तिशाली चक्रवातका कारण नेपालको हिमाल आरोहण प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले उच्च हिमाली क्षेत्रमा उच्च वेगको हावाहुरीको सम्भावना रहेकाले पर्वतारोहण नगर्न र नगराउन आग्रह गरेको छ । चक्रवातको असरले नेपालमा आजदेखि देशभर मौसम बद्ली हुने भएको छ ।

मौसम बिग्रिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहीलाई सजकता अपनाउँदै सुरक्षित रहन आग्रह गरेको छ । विभागका निर्देशक मीरा आचार्यले हिमालमा रहेका पर्यटकलाई सजग गराउन र सुरक्षित राख्न एक्सिपिडिशन एजेन्सीलाई अनुरोध गरेकी छिन् । अहिले धेरै आरोही आरोहण अनुकूल मौसमको प्रतिक्षामा सगरमाथाको आधार शिविरमा छन् । गएको वैशाख २४ गतेदेखि सगरमाथाको व्यावसायिक आरोहण शुरु भएको थियो ।

 
 
  
 

You may also like