व्यावसायीले चीनबाट ल्याए ७,५०० अक्सिजन सिलिण्डर, थप १० हजार आउँदै

काठमाडौं। नेपाली व्यावसायीले चीनबाट मगाएको सात हजार पाँच सय अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुगेको छ । १८ हजार अक्सिजन सिलिण्डरमध्ये ७५ सय सिलिण्डर तातोपानी नाकामा आइपुगेको उनीहरुले जानकारी दिएका छन् ।

७५ सय सिलिण्डरसहितका अन्य स्वास्थ्य सामग्री दिउँसो १२ बजे चिनियाँ कन्टेनरले तातोपानी नाका ल्याएको प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिएका छन् । सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यावसायी रमेश शेर्पाले व्यापारिक प्रयोजनका लाई ल्याएका ती सामान तातोपानी नाकामा झारेर तथ्याङ्क संकलन गरी त्यहाँबाट छुटाइने अधिकृत गौतमले जानकारी दिएका छन् । चार वटामध्ये दुई वटा कन्टेनरमा खाली सिलिण्डर आएको उनले जानकारी दिएका छन् ।

यसअघि आइतबार नै नेपाल आइपुगेको भनि प्रचार गरिएका स्वास्थ्य सामग्री आज मात्र तातोपानी आइपुगेको गौतमले बताएका छन् । ७५ सय सिलिण्डर आए पनि बाँकी १० हजार सिलिण्डर पनि केही दिनमा आउने व्यवसायीको भनाइ छ । चाँडै आउन लागेको भनिएको १० हजार सिलिण्डर एभरेस्ट ग्याँसका सञ्चालक शिवप्रसाद घिमिरे र व्यवसायी दीपक मल्होत्राले आयात गरेका हुन् ।

यसैबीच आइतबार बिहान राष्ट्रिय समाचार समिति ९रासस० मा अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुगेको समाचार प्रकाशित भएको थियो । राससमा प्रकाशित समाचार अन्य सबैजसो सञ्चारमाध्यममा प्रकाशित भए । उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेको भनाइ उद्धृत गरिएको उक्त समाचारमा ती सिलिण्डर चीन सरकारले अनुदानमा दिएको उल्लेख थियो । शुरुमा प्रेस सल्लाहकार पाण्डेले चीनबाट १८ हजार सिलिण्डर आउँदै गरेको भनेर सामाजिक सञ्जालमा लेखेका थिए ।

तर ती सामग्री चिनियाँ अनुदानमा नभई व्यवसायीले ल्याएको सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाले स्पष्ट पारेका छन् । ‘त्यो नितान्त प्राइभेट खरिद हो, सरकारी भन्ने कुनै जानकारी हामीले पाएका छैनौं,’ उनले भने । तर यसलाई अनुदानमा दिएको सिलिण्डर सरकारले छिट्टै ल्याएको भनी सरकारमा रहेका जिम्मेवार व्यक्तिले प्रचार गरेको उनको भनाइ छ ।

 

 
 
  
 

You may also like